अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा अर्थमन्त्रीको राजीनामा माग्दै उद्योगी-मजदुर आन्दोलित

विराटनगरमा अर्थमन्त्रीको राजीनामा माग्दै उद्योगी-मजदुर आन्दोलित


विराटनगर – सरकारले स्टिल र स्यानेटरी प्याडसँग सम्बन्धित माग सम्बोधन नगरेपछि विराटनगरका उद्योगी–व्यवसायीले आज पुनः सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन्। विराटनगरका उद्योगी व्यवसायीलाई ट्रेड युनियनहरूको समेत साथ छ।

उद्योग संगठन मोरङको नेतृत्वमा विराटनगरका उद्योगी व्यवसायी र मजदुरहरूले सुनसरी मोरङ औद्योगिक कोरिडोरमा विरोध प्रदर्शन गरेका छन्। यस क्रममा उनीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्।

व्यवसायीले तिरेका करबाट सरकार चलेको तर सरकारले व्यवसायी र मजदुर मार्ने नीति लिएको भन्दै प्रदर्शनमा सहभागीहरूले नारा लगाए। विरोध जुलुस र कोणसभा मोरङको बुढीगंगा गाउँपालिकास्थित सुनसरी मोरङ औद्योगिक कोरिडोरमा भएको हो।

सरकारको बजेटले समस्यामा परेका उद्योगका माग सम्बोधन नगरिएकाले दोस्रो चरणको संयुक्त आन्दोलनमा उत्रनुपरेको उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले बताउनुभयो ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले माग सुनुवाइ नगरिएपछि आन्दोलनको विकल्प नरहेको बताउनुभयो । आर्थिक विधेयक २०७९–२०८० मा जिआई वायर, वनस्पति घिउतेल र स्यानिटरी प्याड उद्योगका लागि त्रुटिपूर्ण व्यवस्था गरिएको भन्दै उहाँहरुले स्वदेशी उद्योगहरू धरापमा पर्न गई सञ्चालक र श्रमिक मजदुर विस्थापित हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकाले आन्दोलनमार्फत पुनःमूल्यांकन गराउने योजना लिनुभएको छ ।

यसअघि जेठ २७ गतेका दिन अर्थ मन्त्रालयले बजेट पास भएका भोलिपल्टै सच्याउने आश्वासन दिए पनि हालसम्म पनि कुनै चासो नलिएको बताइएको छ।