अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिलोत्तमा नगरपालिका–४ का वडाअध्यक्षलाई पोखरीमा फाल्ने डीएसपीमाथि छानबिन सुरू

तिलोत्तमा नगरपालिका–४ का वडाअध्यक्षलाई पोखरीमा फाल्ने डीएसपीमाथि छानबिन सुरू


रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेलेर पोखरीमा फालेको घटनाको छानबिन सुरु गरिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले क्षेत्रीलाई पोखरीमा फालेको भिडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु गरिएको हो।

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईका अनुसार डीएसपी केसीमाथि छानबिन गर्न निर्देशन दिइसकिएको छ। रुपन्देहीका एसपी रवीन्द्र रेग्मीलाई उक्त विषयमा के भएको छानबिन गरेर जानकारी गराउन भनिएको राईले बताउनु भयो । किन धकेलेर पोखरीमा फाले भन्ने विषय छानबिन भइसकेपछि दोषी देखिए कारबाही हुने राईको भनाइ छ।

आइतबार नगरसभा स्थगित गरेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बिरोध प्रदर्शन गरेका थिए। सोही क्रममा वडाअध्यक्ष क्षेत्रीलाई धकेल्दै प्रहरीले मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा फालेका थिए।

गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाण नगर प्रमुख भएको ठाउँमा प्रहरीले जनप्रतिनिधिमाथि यस्तो दुर्व्यवहार गरेको भन्दै गृहमन्त्री खाणबाट जवाफ माग गरिएको छ।

वडाअध्यक्ष क्षेत्रीलाई पोखरीमा धकेल्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीमाथि कारबाही माग गरिएको छ। नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले संसद्‍मा बोल्दै उक्त माग गरेका हुन्।