अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार धरपकडको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको माग

पत्रकार धरपकडको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको माग


काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार कक्षमै प्रवेश गरी पत्रकार तथा सञ्चारकर्मीमाथि गरिएको धरपकडको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र न्युजरुममै प्रवेश गरेर धरपकड गर्ने कार्य प्रेस स्वतन्त्रताविपरीत भएको ठहर गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता जगदीश खरेलले पत्रकारमाथि सोधपुछका नाममा समाचार कक्षमै प्रवेश गरेर धरपकड गर्नु गलत भएको बताए । घटनामा कसको आदेशमा, किन र कसरी यस्तो गतिविधि भयो भन्ने विषयको सत्यतथ्य सार्वजनिक हुनुपर्ने उनको भनाइ छ ।

‘पत्रकार तथा सञ्चारकर्मीमाथि सोधखोज गर्ने नाममा समाचार कक्षमै प्रवेश गरेर धरपकड किन र कसरी भयो ? कसले गर्‍यो ? त्यसको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका छौँ,’ खरेलले भने ।

प्रधानमन्त्री कार्यालय र प्रहरी प्रमुखले समेत घटनामा आफ्नो संलग्नता नरहेको बताएको उल्लेख गर्दै उनले सरकारी निकायबाटै भएको यस्तो गतिविधिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गम्भीर रहेको बताए । घटनाको छानबिन र कारबाही प्रक्रियामा कुनै ढिलासुस्ती गर्न नहुने उनको भनाइ छ ।

खरेलले पत्रकारमाथि पक्राउ र धरपकड भएको घटनालगत्तै पार्टीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेको र त्यसपछि आधिकारिक लेटरहेडमार्फत सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए । उनका अनुसार पार्टीले घटनालाई गलत ठहर गर्दै तत्काल छानबिन र कारबाहीको माग गरेको थियो ।

उनले समाचारका कारण कसैलाई अन्याय परेको भए कानुनी विकल्प अपनाउन सकिने भए पनि त्यसका नाममा पत्रकारलाई पक्राउ गर्ने वा सञ्चारगृहको समाचार कक्षमा प्रहरी प्रवेश गर्ने कार्य स्वीकार्य नहुने बताए ।

पार्टीले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री तथा गृहमन्त्रीको निर्देशनमा पक्राउ परेका पत्रकारहरूलाई रिहा गरिएको पनि खरेलले जानकारी दिए । यद्यपि, पत्रकार रिहा हुँदैमा घटना टुंगो नलाग्ने भन्दै उनले यसको पृष्ठभूमि, आदेश दिने व्यक्ति र संलग्न पक्षबारे निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।

रास्वपा सोसल डेमोक्रेसी, विधिको शासन, मानवअधिकार र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै खरेलले छानबिनको निष्कर्ष र दोषीमाथि गरिएको कारबाहीको विवरण यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।