अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कहाँ-कहाँ बन्द छन् मुख्य राजमार्ग ?

बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कहाँ-कहाँ बन्द छन् मुख्य राजमार्ग ?


काठमाडौँ-अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। विभिन्न स्थानमा पहिरो खस्दा केही राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने कतिपय सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीले शनिबार साँझ साढे ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको छ।

बागमती प्रदेशअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँदुर र टार्कुचेमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, ललितपुर महानगरपालिका–२ बल्खुस्थित सुन्दरीघाटमा अविरल वर्षाका कारण बागमती करिडोर पनि पूर्ण रूपमा बन्द भएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

मकवानपुरमा बाढीपहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथअन्तर्गत हेटौँडाबाट ठिङ्गन हुँदै ललितपुर जाने सडक रातिको समयमा बन्द गरिएको छ। उक्त सडक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको हो। त्यस्तै, कुलेखानी जलाशयको पानीको सतह बढेर सडक पार गर्न सक्ने जोखिम देखिएपछि भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडक खण्डमा पनि रातिको समयमा आवागमन रोकिएको छ।

कोशी प्रदेशको खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गण्डकी प्रदेशको गोरखा जिल्लामा आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती–मान्बु सडकको पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेमा पहिरो तथा अविरल वर्षाका कारण जोमसोम–कोरला सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।

यसैगरी, धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भइरहेको छ। पाल्पाको रामपुर नगरपालिका–१ मा पहिरोका कारण कालीगण्डकी करिडोर र सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

वर्षा जारी रहेकाले सडकको अवस्था थप बिग्रन सक्ने जोखिम छ। प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न तथा जोखिमयुक्त सडक खण्डमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।