अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीको प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन कार्यशाला सुरू

एमाले लुम्बिनीको प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन कार्यशाला सुरू


रुपन्देही – नेकपा एमाले लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुईदिने कार्यशाला आजदेखि बुटवलमा सुरु भएको छ ।

कार्यक्रमको योजना बनाउने, संगठनले गर्ने कामको योजना बनाउने लगायतका विषयमा निष्कर्ष निकाल्ने पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले बताउनुभयो ।

उहाँले पार्टीको संगठनात्मक अवस्था, समस्या र समाधान सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पार्टीभित्र देखिएका समस्या र समाधानकाबारे विचार प्रस्तुत गर्नु भएको थियो ।

स्थानीय तहको निर्वाचनमा भएका घात प्रतिघात, त्यसबाट लिनुपर्ने शिक्षा, संस्कार–संस्कृति र कार्यशैली तथा आगामी दिनमा गर्नुपर्ने कामको बारेमा जानकारी सचिव विश्वकर्माले गराउनु भयो ।

सो अवसरमा पार्टी केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारीले वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपले सबल सुदृढ, भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ठ सम्बन्ध बढाउनु तथा शैलीगत रूपमा जनमुखी हुनुपर्ने विचार राख्नुभएको थियो ।

कार्यशालामा प्रस्तुत कार्यपत्रमाथि आधारित भएर पाँचवटा समूह बनाएर छलफल गर्ने र दोस्रो दिन प्रस्तुत गर्ने योजना रहेको छ ।

कार्यशालामा प्रदेश कमिटीका सचिवालय सदस्य, प्रदेशभित्रका सबै जिल्लाका पार्टी अध्यक्ष, इन्चार्ज, सह इन्चार्ज, संगठन विभाग प्रमुख, जनसंगठनका प्रमुख लगायतको सहभागिता रहेको  थियो ।  

शनिवार हुने कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रशिक्षण दिनु हुनेछ । त्यसैगरी प्रदेश कमिटीले यही २०–२१ गते प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जसमा पार्टी उपाध्यक्ष सुभाष नेम्वाङ र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिनुहुने छ।

प्रदेशको प्रशिक्षणपश्चात् जिल्ला एवं वडा तथा टोल स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।