अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगरको १० वर्षे शैक्षिण रणनीति : शैक्षिक हब बनाउने प्रतिवद्धता

वीरेन्द्रनगरको १० वर्षे शैक्षिण रणनीति : शैक्षिक हब बनाउने प्रतिवद्धता


सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले शिक्षाको लागि १० वर्षे रणनीतिक योजना बनाएको छ ।
रणनीतिक योजनाले शिक्षाको क्षेत्रमा नगरपालिका कसरी अघि बढ्ने भन्ने बाटो देखाएको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । ‘यही योजना अनुसार हाम्रा बजेट, कार्यक्रम, नीति, समन्वय र सहकार्य अघि बढ्ने छन्’, उहाँले भन्नुभयो ।

झट्ट हेर्दा रणनीतिक योजना महत्त्वाकांक्षी जस्तो देखिए पनि सपना देखिएन भने काम नहुने उहाँले बताउनुभयो । अब नगरपालिका शिक्षाको क्षेत्रमा प्रष्टसँग अघि बढ्ने उहाँले बताउनुभयो । प्रदेश राजधानी भएको नगरपालिका भएकाले पनि वीरेन्द्रनगरको विशेष महत्त्व रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘वीरेन्द्रनगरलाई शैक्षिक हब बनाउने सपना देखेका छौँ, त्यो सपनालाई पूरा गर्ने गरी हामी सबै अगाडि बढ्ने छौँ’, उहाँले भन्नुभयो ।

नेपालको संविधानले शिक्षाको अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरेको उहाँले स्मरण गराउनुभयो । कोही पनि बालबालिका शिक्षाको हकबाट वञ्चित हुनुहुँदैन भन्ने कुरा संविधानले नै बोलेको उहाँले प्रष्ट पार्नुभयो ।

बालबालिकाको शिक्षाको अधिकारलाई सुरक्षित गर्न स्थानीय तह पूर्ण रूपमा लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसकै लागि रणनीतिक योजना बनाइएको उहाँले बताउनुभयो ।

ढकालले धेरै विषय विज्ञको राय, सुझाव र अध्ययन गरेर नगरपालिकाको शिक्षा सम्बन्धी रणनीतिक योजना बनाएको बताउनुभयो । बाल विकास केन्द्रदेखि नै शिक्षाको विकास गर्ने गरी योजना बनाइएको ढकालले बताउनुभयो ।