अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-४ मा एलपीको चुनौती- गठबन्धनका लागि एक्लै काफी छु  

झापा-४ मा एलपीको चुनौती- गठबन्धनका लागि एक्लै काफी छु  


झापा – २०७० सालको संविधानसभा निर्वाचन भन्दा केही महिनाअघि देखि झापाको  तत्कालिन निर्वाचन क्षेत्र नं. ५ मा एलपी साँवाको नाम चर्चामा आयो । एमालेका सादगी नेता तारा सम्याङयाको उतराधिकारीको रूपमा साँवाको उदयलाई धेरैले विजेता उम्मेद्वारको रूपमा नै प्रक्षेपण गरेका थिए । तर पार्टी भित्रैको अन्तरघातले साँवालाई संविधासभाको सदस्य हुनबाट रोक्यो ।

 चुनाव हारे पनि एलपी कम्तीमा १५ दिनमा एक पटक निर्वाचन क्षेत्र पुग्ने, जनताका समस्या सुन्ने र समाधानको पहल लिन सधैं अग्रसर हुनुभयो । अक्सर चुनाव हारेपछि अर्को चुनावमा टिकट नपाएसम्म निर्वाचन क्षेत्र नजाने नेताहरूमा अपवद निस्किएका एलपीलाई धेरैले सोध्थे- ‘तपाईं चुनाव हारेपनि किन सधैं क्षेत्रतिरै धाइरहनुहुन्छ ?’ एलपीको जवाफ हुन्थ्यो, ‘जिते पनि हारे पनि पाँचवर्ष जनताको सेवा गर्नु भनेर मलाई एमालेले खटाएको हो । त्यसैले जितहारसँग होइन पार्टीको निर्देशन मान्न म क्षेत्र आउनैपर्छ ।’

एलपीको यही सक्रियताले २०७४ सालमा सफलता हात पार्‍यो । अर्थात झापाको क्षेत्र नं. ४ का जनताले उहाँको चार वर्षको सक्रियतालाई अनुमोदन गरिदिए । लोकतन्त्रमा हुने आवधिक निर्वाचनको फन्को घुम्दै फेरि यसपाली आएको छ । चुनाव हार्दा पनि क्षेत्रबासीसँग सामप्यिता कायम राखेका साँवाले साँसदको हैसियतमा त्यो क्रमलाई थप बढाएको स्थानीयबासीहरु बताउछन्। विभिन्न जातीय समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा प्राय सबै जातीका चाडपर्वमा एलपीको उपस्थिती देखिन्थ्यो । त्यती मात्र होइन साँसदको हैसियतमा विकास निर्माणका कामको सक्रियता पनि एलपीको कम रहेन । स्पष्ट वक्ता एलपी आगामी मंसिरमा हुने चुनावको दौडमा फेरी होमिनुभएको छ ।

‘पार्टीले टिकट दिन्छ भन्ने कुरामा ढुक्कै छु ’ क्षेत्रमै भएका साँवाले भन्नुभयो, ‘मेरो सक्रियताको कारणले जतिवटा पार्टी मिलेर आए पनि एलपी साँवा एक्लै काफी हुन्छ ।’ अघिल्लो निर्वाचनमा माओवादी मतको पनि साहारा पाएका एलपी यसपटक  त्यो भन्दा बढी नै मतदाता आफ्नो पक्षमा आइसकेको दाबी गर्नुहुन्छ ।

 साँसदको हैसियत नीति निर्माण गर्ने,बजेट पास गर्ने,विकास निर्माणका काममा सहजिकरण गर्ने हो । तर आफ्नो क्षेत्रको पूर्वी किनार मध्य भागबाट बग्ने बिरिङ र कनकाईको डुबान र कटानको रोकथाममा एलपीले संघीय र प्रदेश सरकारका निकायहरुलाई परिचालन गरेको शिवसत्ताक्षी नगरपालिकाका मेयर मेघहाङ थोप्रा बताउनुहुन्छ । ‘जनतासँग भिजेको, जनतालाई चिनेको र जनताले चिनेको नेता एलपी साँवा नै हो’ थोप्रा भन्नुहुन्छ ‘गठबन्धनको ओझ भन्दा एलपीको ओझ नै बढी छ।’

एलपीले चुनाव जित्नुपर्ने क्षेत्रमा  कनकाई नगरपालिकाको वडा नं. १ देखि ७ सम्म, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका वडा नं. १, २ र गौरादह नगरपालिकाको ९ गरी चारवटा स्थानीय तह समेटिएका छन् । ‘भौगोलिक विविधता र जातीय विविधता यस क्षेत्रका मुख्य विशेषता हुन्’ कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल भन्नुहुन्छ, ‘लिम्बू, मुस्लिम, क्षेत्री बाहुन,मगर,राजवंसी, सन्थालको मुख्य बसोबास थलो हो झापाको क्षेत्र नं. ४ । यी सबैलाई समन्वय गर्न सक्ने मान्छेलाई नै यहाँका जनताले जिताउछन् ।’

 वैदेशिक रोजगार व्यावशायमा जमेका साँवा वदैशिक रोजगार व्यावशायी महासंघको अध्यक्ष भइसक्नु भएको छ । अहिले उहाँ नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उद्योग व्यावशायी संघका अध्यक्ष हुनुहुन्छ । एलपीको भनाइ छ ‘जनताका काम घुडोमुन्टो टेकेर गरेको छु । यो कुरा क्षेत्र नं. ४ का जनताले थाहा पाएका छन् । केपी ओलीलाई प्रधानमन्त्री बनाउन झापा-४ ले एउटा मत संसदमा पु¥याउछ । ’