अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम-२ बाट सुवास नेम्वाङको नाम एकल सिफारिस

इलाम-२ बाट सुवास नेम्वाङको नाम एकल सिफारिस


इलाम – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभाको निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन्।

नेकपा एमाले इलाम क्षेत्र-२ क्षेत्रिय कमिटीले एकल उम्मेदवारको रुपमा नेम्वाङको नाम सिफारिस गरेको हो। अरूको नाम सिफारिस नभएकाले इलाम क्षेत्र २ मा एमालेबाट नेम्बाङको उम्मेदवारी निश्चित भएको बताईन्छ ।

२०५६ सालबाट इलाम क्षेत्र-२ मा जित्दै आएका नेम्वाङले २०६४ र २०७० मा संविधानसभा अध्यक्षको पद समेत सम्हालिसक्नुभएको छ ।

२०५६ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङलाई पराजित गरेका नेम्वाङले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई हराउँदै नेम्वाङले इलाम क्षेत्र नं २ मा ह्रयाट्रिक गरेका थिए। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङले नेपाली कांग्रेसका केशव थापालाई दोश्रो पटक पराजित गर्नुभयो ।

नेम्वाङले ३६ हजार ५१७ मत ल्याएका थिए भने थापाको २६ हजार ८६५ मत आएको थियो।

एमालेले क्षेत्र २ (क) बाट पनि गणेशप्रसाद बरालको एकल नाम सिफारिस गरेको छ। जिल्ला समन्वय समितिका निवर्तमान प्रमुखसमेत रहेका बराल जिल्लाका सालिन नेता मानिन्छन्। यो क्षेत्रबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेकै रामबहादुर रानामगर विजयी बनेका थिए।