काठमाडौँ-देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन्। ती घटनामा तीनवटा चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा, हिमपात तथा जनावरको आक्रमणका घटना भएका हुन्।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार सबैभन्दा बढी पहिरोका १७ वटा घटना भएका छन्। त्यस्तै, अविरल वर्षाका सात, आगलागी र बाढीका पाँच-पाँच, सर्पदंश र जनावरको आक्रमणका चार–चार तथा हिमपातको एउटा घटना भएका छन्।
विपद्मा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। साथै, विपद्का घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कामसमेत जारी छ।
सम्भावित विपद्को जोखिमबाट बच्न अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र आवश्यक पूर्वतयारीमा रहन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।



प्रतिक्रिया