अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैवाहिक अंगीकृतमा प्रचण्डको बोली किन फेरियो ? : शंकर पोखरेल

वैवाहिक अंगीकृतमा प्रचण्डको बोली किन फेरियो ? : शंकर पोखरेल


भरतपुर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैवाहिक अंगीकृत नागरिकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दृष्टिकोण बदल्नु रहस्यमय भएको बताउनु भएको छ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले तत्कालिन नेकपा विभाजन नहुँदा अध्यक्ष प्रचण्ड पनि वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधानको पक्षमा रहेको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘अध्यक्ष प्रचण्ड दृष्टिकोण किन बदल्नुभयो भन्ने कुराको रहस्य जनताका बीचमा आइदियो भने बडो राम्रो हुन्थ्यो ।’

महासचिव पोखरेलले भन्नुहुन्छ, ‘उहाँले नेकपाको समयमा वैवाहिक अंगीकृतका हकमा भारतमा जे प्रोभिजन छ नेपालमा त्यही राख्नु उचित हुन्छ भनेर निर्देशन दिनुभयो, राज्य व्यवस्था समितिका सदस्यहरुलाई बोलाएर । आज यो दृष्टिकोणबाट उहाँ बाहिर किन जानुभयो ? यसको जवाफ उहाँ स्वयंले दिनुपर्ने हो ।’

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकता लिनका लागि समय तोकिएको छैन ।

नेकपा एमालेले नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनु उचित हुने धारणा राख्दै आएको छ र नागरिकता विधेयक अहिलेकै अवस्थामा पारित गर्नु उचित नहुने बताउँदै आएको छ ।

प्रचण्डले शुक्रबारमात्र एक कार्य क्रममा राष्ट्रपतिले नागरिकता विधेयक स्वीकृत नगरे राजीनामा दिनुपर्ने धारणा राख्नु भएको थियो ।

एमाले महासचिव पोखरेलले प्रचण्डले राष्ट्रपतिमाथि प्रश्न उठाउनु उचित नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले नागरिकताजस्तो विषयमा प्रमुख दलहरुका बीच सहमति हुनु, दीर्घकालीन समाधान खोज्नु उपयुक्त हुन्छ भन्नुभएको थियो । त्यो कुरालाई गठबन्धन सरकारले किन छलफलको विषय बनाउन आवश्यक ठानेन त्यसको जवाफ दिनुपर्ने हो नि प्रचण्डजीले ।’

एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको आमाको निधनमा थापा परिवारलाई समवेदना प्रकट गर्न महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली चितवन आउनु भएको हो ।