काठमाडौं- डेढ वर्ष अघि तत्कालिन संघीय समाजवादी पार्टीबाट विद्रोह गर्न चाहेका केही नेताहरुलाई काठमाडौंमा ल्याउँदा एमाले नेता महेश बस्नेतलाई अपहरणको आरोप लाग्यो । जसपाका उमाशंकर अरगरीया विद्रोहका सुत्राधार हुनुहुन्थ्यो । कोरोनाले लक डाउन भएको बेला २०७७ बैशाखमा बस्नेत,एमालेका तत्कालिन साँसद किसन श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले अरगरीयाको आग्रहमा सोह पार्टीका साँसद डा.सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउनु भएको थियो । काठमाडौंको मेरियट होटलमा बास बसाएका यदव सहितका साँसदहरु पूर्व सहमतीबाट पछि सरेपछि यो प्रकरणलाई ‘अपरहण’का रुपमा प्रचार गराइयो ।
त्यसबेला अहिलेका भौतिक मन्त्री इस्तिहाक राई,पूर्व मन्त्री रेणु यादव,प्रमुख सचेतक अरगरीया सहित तत्कालिन संघीय समाजवादी पार्टीका ७ जना साँसदले विद्रोह गरेर नयाँ पार्टी गठन गर्ने र उक्त पार्टी नेकपामा विलयको तयारी थियो । ति साँसदहरुलाई ससपाबाट फुटेर नयाँ दल बनाउन सहज बनाउनका लागि केपी शर्मा ओली सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशमा संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या पुर्याएमा दल विभाजन हुन सक्ने प्रावधान ल्याइएको थियो । ‘त्यो अध्यादेश ल्याउने समय र ससपाको विद्रोहको तयारीको समय मेल नखाँदा स्थिती भताभुंग भएको हो’ त्यस बेलाका एक पूर्व मन्त्री भन्छन् ‘अध्यादेश ल्याउन तीनदिन कुरेको भए त्यसबेलाको मिसन सफल हुने थियो । ’
तर त्यो मिसन ढिलै भए पनि सफल हुने दिशातिर गएको एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेत बताउनुहुन्छ । पाँचदिन अघिको एक साँझ अध्यक्ष ओलीसँग बस्नेत सहित अरगरीयाले लामो कुरा गर्नुभयो । ‘अध्यक्षज्यूसँगको भेटघाट पछि उहाँ एमालेमा प्रवेश गर्न राजी हुनु भएको हो’ बस्नेतले यो बेलासँग भन्नुभयो ‘असोज ८ गते अरगरीयाजी सहित केही हाइ प्रोफाइल एमालेमा प्रवेश गर्दैछन् ।’
अरगरीया अहिले लोकतान्त्रिक समाजवादी पार्टीको प्रमुख सचेतक हुनुहुन्छ ।
डेढ वर्ष अघिको आफ्नो मिसन पुरा हुने कुरामा आफू दृढ रहेको बस्नेतको भनाइ छ ।







प्रतिक्रिया