काठमाडौं- हामी यस्तो बेला संविधान दिवश मनाउदैछौं,जहाँ परमादेशले सरकार बनेको छ । संविधानको अन्तिम व्याख्याता प्रधानन्यायधिसलाई नजरबन्दमा राखिएको छ । यी दुई दृष्यले नेपालको संविधानमा माथी कालो बादल मडारिएको संकेत गरेको छ । त्यसैले मनले मात्र संविधानको पुकारा गर्ने होइन,व्यवहारमा कार्यान्यवन गर्ने बाचा गरौं ।
सम्पादकीय
नेपालमा संविधानसभाले भगरिथ प्रयत्नपछि संविधान जारी गरेको ८ वर्ष टेकेको दिन । शिशु अवस्थाका केही समय नै कष्टपूर्ण ढंगले गुजारेको संविधान बाल्यकालबाट किशोर वयतर्फ उन्मुख छ । आशा गरौं, संविधानको बाल्यकाल उचित पालपोषण सहित बित्नेछ र किशोरावश्था थप सुखमय हुनेछ ।
तर नेपालीहरुको यो आशामा तुसारो लागिरहेको आभास भएको छ । संविधानका रक्षकहरुका वर्षदिन यताका गतिविधी हेर्दा संवैधानिक यात्राले लिक छोड्न थालेका प्रमाणहरु प्रशश्त देखिन थालेका छन् । त्यसका लागि धेरै टाढा जानु परेन । आजै हामी त्यस्तो दिनमा संविधान दिवश मनाइरहेका छौं । जहाँ संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतका प्रधानन्यायधिस नजरबन्दमा छन् । आज हामी त्यस्तो अवस्थामा संविधान दिवश मनाइरहेका छौं जहाँ जनादेशको होइन परमादेशको सरकारले शासन गरिरहेको छ । आज हामी त्यस्तो अवस्थामा संविधान दिवश मनाइरहेका छौं जहाँ केही राजनीतिक दलहरु जनताको सेवाका लागि होइन आफ्नो भविष्य सुरक्षित गर्नका लागि महिनौं देखि गैह्र संवैधानिक अभ्यासमा लिप्त छन् ।
यस प्रकारका गतिविधीले संविधानले परिकल्पना गरेको समाजवाद तर्फको यात्रा अघि बढ्न सक्दैन । संवैधानिक यात्रामा आइपर्ने उबुडखाबडलाई सही ट्रयाकमा हिडाउने काम देशको नेतृत्व गरेका राजनीतिक दलको हो । खासमा सत्तामा रहनेहरुले संविधानको परिपालन र कार्यान्वयनमा घनिभुत जोड दिनुपर्ने हो । तर ,अहिले सत्ता पक्ष नै संविधान मिच्न उदत भएको समय छ । नेपाली काँग्रेसको नेतृत्वमा,नेकपा माओवादी केन्द्र,जनता समाजवादी,नेकपा एस,जनमोर्चा जस्ता दलहरु अहिले सरकार सञ्चालनमा छन् । अवस्था कस्तो छ भने सरकारमा भएकाहरुले कहाँ कतिबेला संविधानको उल्लंघन गर्छ भनेर प्रमुख प्रतिपक्षी दलले निगरानी गरिरहनु परेको छ ।
एउटा जिम्मेवार राजनीतिक दलको हिसाबले एमालेले संवैधानिक प्रवाधानको पालना र कार्यन्वयनका लागि हरसम्भव पहल जारी राखेको देखिन्छ । तर सरकार अहिले अदालतले बनाइदिएको छ । जसले गर्दा जनताप्रति उसको जवाफदेहिता कम छ र यो सरकार गठन गर्न वातावरण बनाइदिने देशी ,विदेशीहरुप्रति जवाफदेहिता बढी देखिन्छ । त्यसैले यो समय बढी लम्ब्याउनु उपयुक्त छैन । सात दशक लामो संघर्ष,संयौंको बलिदानीबाट प्राप्त गरेको संविधानसभाबाट बनेको संविधानको परिपालना गरेर नेपाली जनतालाई सुखी र समृद्ध बनाउने महाअभियानका लागि फेरी पनि संविधानको परिपालना नै मुख्य सर्त हो । त्यसैले जुनसुकै असंवैधानिक हरकतहरुलाई अवरुद्ध गरेर संवैधानिक बाटोमा देशलाई हिडाउन जरुरी छ । त्यसका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा संविधानको परिपालना गर्ने दललाई बहुमत दिलाएर लिक बाहिर पुग्न लागेको संवैधानिक यात्रालाई सही लिकमा हिडाउने प्रण गरौं ।







प्रतिक्रिया