धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनु भएको छ ।
धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ। कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने उसलाई लाग्यो भने त्यो प्रहरी सरुवा गर्छ । यही ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ । कर्मचारी सरुवा गरेको छ । गठबन्धनको चाकडी गर्दैन भन्ने लाग्यो भने कानुन बमोजिम चल्छ भन्ने लाग्यो भने सरुवा गरेको छ । यो सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी भ्रष्टाचारी सरकार ।’
सरकारले देशलाई हिंसा, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितिर लैजान खोजेको भन्दै ओलीले देशमा एमाले पनि छ भन्ने हेक्का राख्न चेतावनी दिनुभयो ।
अध्यक्ष ओली लोसपाका नेता उमाशंकर अरगरियालाई पार्टीमा भित्र्याउन धनुषा आइपुग्नु भएको हो ।
अरगरियासहित अन्यलाई पार्टीमा प्रवेश गराएपछि उहाँले एमालेमा आउनेहरूलाई उचित अवसर दिइने प्रतिवद्धता समेत जनाउनु भयो ।
‘तपाईहरूलाई अवसर दिएर नै अगाडि बढाउनेछौं। तपाईहरूलाई कुनै पछुतो हुने छैन’, उहाँले भन्नुभयो ।







प्रतिक्रिया