काठमाडौं- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रचण्ड माधवलाई काँग्रेसका भोटले जित्छु भन्ने नचिताउन चेतावनी दिनुभएको छ ।
आज काठमाडौंमा आयोजित डा. शेखर कोइराला समूहको खबरदारीसभामा घिमिरेले पहिला पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभयो । देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललाई ‘विद्रोह’ हुन सक्ने चेतावनी समेत दिनुभयो । आसन्न निर्वाचनका लागि बालुवाटारमा भइरहेका बैठक र प्रचण्ड तथा नेपालले माग गरेको सिट संख्याप्रति घिमिरेल आक्रोस व्यक्त गर्नुभयो ।
“म हाम्रो सभापतिलाई मात्र होइन, प्रचण्डजी र माधव नेपालजीहरूलाई पनि भन्न चाहन्छु– हामी आक्रोशको चरणमा छौँ । यसपछि विद्रोह हुनसक्छ,” घिमिरेको चेतावनी छ “बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, सन्देश पठाउँदैमा, घण्टौँ बैठक गर्दैमा मागे जति सिट पाइँदैन र पाएजति सिट जितिँदैन ।” उहाँले माधव प्रचण्डलाई काँग्रेसको भोटले जित्ने सपना नदेख्न चेतावनी दिनुभएको छ ।







प्रतिक्रिया