काठमाडौ- गठबन्धनका विरुद्ध आफूहरु विद्रोहको अन्तिम तयारीमा रहेको काँग्रेसको शेखर पक्षले चेतावनी दिइरहेका बेला माओवादीमा विद्रोह सुरु भएको छ । पोलिटव्यूरो सदस्य हेमराज भण्डारी सहित जिल्ला कमिटीले राजिनामा गरेर माओावदीमा विद्रोहको सुरुवात गरिएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले आफूहरुलाई पेलेर भागवण्डामा किनारा लगाएको आरोप लगाउँदै काँग्रेसमा शेखर कोइराला पक्षले समानान्तर भेला र एमालेसँग गठबन्धनका लागि संवाद जारी राखेका छन् । तीनदनि अघि भेलामा नेता गुरुराज घिमिरेले सभापति देउवालाई मात्र चेतावनी दिनुभएन गठबन्धनका प्रमुख पात्रहरु प्रचण्ड र माधव नेपाललाई पनि चेतावनी शैलीमा काँग्रेसको भोटले जित्छु भन्ने नचिताउन सुझाव दिनुभएको थियो ।
शेखर पक्षका एक नेताका अनुसार देउवाले काँग्रेसले ८० सिट राखेर ८५ सिट गठबन्धनका अन्य दललाई बाँडचुँड गर्ने तय गरेपछि काँग्रेसमा ठूलो विद्रोहको तयारी भएको छ । ‘देउवाले ८० सिट लिनुभयो भने हामी ८५ सिट लिन्छौं’ कोइराला पक्षका एक नेताले भन्नुभयो ‘काँग्रेस जस्तो पुरानो र ठूलो पार्टीले माओवादी र एकवर्षको पनि इतिहास नभएको एस पार्टीले भाग लगाइदिएको सिटमा चित्त बुझाउन मिल्दैन ।’
कोइराला समुह विद्रोहको साथ खोज्दै एमाले अध्यक्ष केपी शर्मा ओलीकोमा निरन्तर धाइरहेको थाहा भएको छ । यो समुह एमालेसँग तालमेल गरेर चुनावमा उठ्ने तयारीमा छ । ‘हामी काँग्रेस उठेका ठाउँमा पनि उठ्छौं । काँग्रेस नउठेका ठाउँमा त सहजै उठ्छौं नै ’ काँग्रेसका एक नेता भन्छन् ।
गठबनधनप्रति इमानन्दार भनिएका माओवादी झन् प्रचण्डको पेलानमा कति परेको रहेछ भनेर पोलिटव्यूरो सदस्य हेमराज भण्डारी सहित धनकुटा जिल्ला कमिटीले नै गरेको विद्रोहबाट प्रष्ट हुन्छ । छिन्ताङ हत्याकाण्डका नायक सूर्यबहादुर थापाका छोरा सुनिलबहादुरले टिक पाउने भएपछि हेमराजले माओवादीमा भविष्य नदेख्नु भएको हो । अघिल्लो निर्वाचनमा एमालेलाई सघाएका भण्डारी यसपाली हार्ने नै भए पनि उम्मेद्वार बनेर जनतामा स्थापित हुन चाहनु भएको थियो । तर भर्खरै राप्रपाबाट प्रवेश गरेका थापाले काँग्रेसका नाममा टिक उम्काउने भएपछि प्रचण्डको शैलीप्रति कडा असहमति जनाउँदै भण्डारीको नेतृत्वमा धनकुटा जिल्लाको माओवादीले पदबाट राजिनमा गरेर तितरवितर भएको हो । भण्डारी उनै व्यक्ति हुन् जो २०५५÷०५६ सालमा नै छिन्ताङ हत्याकाण्डको पृष्ठभूमी र थापा परिवारको संलग्नताका विषयमा लेखहरु लेख्नु हुन्थ्यो ।
संविधानसभाका सदस्य भण्डारी एक विकासप्रेमी नेता हुनुहुन्छ । युवा नेता भण्डारी केपी ओली प्रधानमन्त्री भएका बेला पनि प्रचण्ड शैलीको विरोध गर्दै पाँचवर्ष नेकपा कै सरकार टिकाउनु पर्दछ भन्ने मान्यता राख्नु हुन्थ्यो । भण्डारीले माओवादी शैलीको विरोध गर्दै भन्नुभएको छ ‘२०६४ सालमा २ सय २० सिट जित्न सक्ने माओवादी १५ वर्षपछि कसरी काँग्रेसँग ४० सिट माग्ने अवस्थामा पुग्यो ?’ भण्डारीले प्रचण्डलाई सोध्नु भएको छ ।
धनकुटाबाट सुरु भएको माओवादीको यो विद्रोह देशैभरी फैलने भण्डारीको भनाइ छ । ‘सुरुवात कसले गर्ने भन्ने थियो त्यो मैले गरें’ भण्डारीले भन्नुभयो ‘अब माओवादीले जति सिट पाउछ त्यती सिटमा कि पार्टी छोडेका म जस्ता मान्छे गठबन्धनका विरुद्ध उम्मेद्वार हुन्छन् कि त माओवादी मै बसेर बागी उम्मेद्वार हुन्छन् ।’







प्रतिक्रिया