अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी अफ्ठ्यारोमा परेका बेला नेतृत्व छाडेर भाग्दिनँ: केपी ओली

पार्टी अफ्ठ्यारोमा परेका बेला नेतृत्व छाडेर भाग्दिनँ: केपी ओली


इलाम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई इलाममा सम्बोधन गर्दै ओलीले पार्टी अफ्ठ्यारोमा परेका बेला आफू मैदान छाडेर नभाग्ने बताए।

अध्यक्ष ओलीले आफूलाई हटाउने भन्दै हस्ताक्षर अभियान सञ्चालन गर्ने र पार्टी कार्यालयमै बसेर नेतृत्व परिवर्तनको चर्चा गर्नेहरूप्रति आक्रोश व्यक्त गरे।

‘अहिले अलिकति अनुशासनहीनता देखा परेको छ। पार्टी कार्यालयको क्यान्टिनमा बसेर केहीले हल्ला चलाएका छन्– अध्यक्षलाई हटाउने रे ! कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँडेका छन्,’ अध्यक्ष ओलीले ओलीले भने।

अध्यक्ष ओलीले पार्टीमा अराजकता र मनपरितन्त्र नचल्ने चेतावनी दिए। अध्यक्ष ओलीले पार्टीमा रहेर सामाजिक सञ्जालमार्फत अनुशासनहीन गतिविधि गर्ने छुट कसैलाई नभएको बताए। पार्टीमा बस्ने हो भने विधि, नीति, नियम र अनुशासन पालना गर्नुपर्ने उनको भनाइ थियो।

 अध्यक्ष ओलीले भने, ‘पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जेपायो त्यही लेख्ने कुरा हुँदैन। पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ। अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन पालना गरे हुन्छ। चुप लागेर घरमा बस्ने भए बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो भने अनुशासन चाहिन्छ।’

अध्यक्ष ओलीले बाह्य राजनीतिक शक्तिको प्रहार सामना गर्नुपर्ने समयमा पार्टीभित्रैबाट अध्यक्ष हटाउने प्रयास हुनु दुर्भाग्यपूर्ण भएको बताए। आफू कार्यकर्ताको अत्यधिक मतबाट अर्को महाधिवेशनसम्मका लागि नेतृत्वमा निर्वाचित भएको उनको दाबी थियो।

‘विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ। एकताबद्ध पार्टीले सामना गर्नुपर्ने बेलामा अध्यक्ष हटाउँछौँ भनिएको छ। यो केही हुनेवाला छैन,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई थप अनुशासित र एकताबद्ध बनाएर अघि बढाउने बताए। उनले पार्टीको विधान र विधिविपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि संगठनात्मक कारबाही गरिने चेतावनीसमेत दिए।

‘कुनै संस्थामा काम गर्दा त्यो संस्थाको नीति, नियम, विधि र अनुशासन पालना गर्नुपर्छ। यो कुरा कार्यान्वयन गरेर अगाडि बढिन्छ,’ अध्यक्ष ओलीले भने।