इलाम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको वर्तमान सरकारबाट देश सञ्चालन हुन नसक्ने टिप्पणी गरेका छन्।
इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन्।
‘हामी विचलित हुनुपर्ने कुनै आवश्यकता छैन। यो देश तपाईँ– हाम्रो हो। तपाईँ–हामीले यो देशको माया गर्नुपर्छ, यो देश बनाउनुपर्छ,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले सरकारले प्रतिशोधका आधारमा आफू, रमेश लेखक लगायतका नेताहरूलाई पक्राउ गरेको आरोप लगाए। सरकारले प्रतिबन्ध लगाउने, नेताहरूलाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउने प्रयास गरेको उनको दाबी थियो।
अध्यक्ष ओलीले भने, ‘यो सरकारले प्रतिबन्ध लगायो। मलाई गिरफ्तार गर्यो, रमेश लेखकलाई गर्यो, अरू नेताहरूलाई गिरफ्तार गर्न थाल्यो । झुटा मुद्दा लगाउने कोसिस गरे। अर्को जान्नेलाई छान्ने भन्यो, भएका जान्नेहरू सबै निकाल्यो अनि फेरि आफ्नालाई नियुक्ति गर्यो।’
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगप्रति पनि ओलीले असन्तुष्टि जनाए। उनले आयोगले छानिछानी मुद्दा लगाउने उद्देश्य राखेको आरोप लगाउँदै आफूहरूमाथि मात्रै लक्षित गरेर छानबिन गर्न खोजिएको बताए। ‘तथाकथित आयोग बनाएको रे। छानिछानी मुद्दा लगाउनको लागि, उनीहरूलाई मुद्दा नै नलाग्ने कानुन बनाएको छ। आफ्ना नातागोतालाई पनि मुद्दा नलाग्ने। १९० तोला सुनको पनि खोजबिन गर्न नपाइने। हाम्रो चाहिँ यो लगाएको कपडा कुन पैसाले किनेको छ भनेर सोध्ने ? यो स्टकोट कहाँबाट आयो ? कुन टेलरले सिलाएको ? धागो कहाँबाट ल्याइयो ? मेसिनले सिलाइसक्यो कि हातले सिलाइसक्यो ? भनेर खोज्ने?’
अध्यक्ष ओलीले सुनसरीमा सरकारले नै साम्प्रदायिक विद्वेष र हिंसा भड्काएको आरोपसमेत लगाए। आफ्ना कार्यकर्ता भेला गरेर विवाद सिर्जना गर्ने र पछि सम्झौता गरेर आन्दोलन साम्य पार्ने काम भएको उनको दाबी थियो। ‘आफैँ विद्वेष, झगडा लगाउन खोज्ने। गोलबजार, सुनसरीमा विभिन्न किसिमको हिंसा भड्काइयो। आफ्ना कार्यकर्ता भेला गरेर फेरि एउटा सम्झौता गरेर अनि आन्दोलन साम्य पारे’ अध्यक्ष ओलीले भने ।
यसैगरी, प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिप्रति ओलीले आपत्ति जनाए। उनले राष्ट्रिय सीमा र सार्वभौमिकतासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको संकेत गरे।


प्रतिक्रिया