इलाम-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक उपत्यकाबाहिरको राजनीतिक कार्यक्रममा सहभागी हुन शनिबार इलाम पुगेका छन्।
इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा शनिबार आयोजित नेकपा (एमाले) को जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकको उद्घाटन कार्यक्रममा अध्यक्ष ओली सहभागी भएका हुन्।

इलाम जाने क्रममा अध्यक्ष ओली झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण गरेका थिए। उनलाई स्वागत गर्न बिहानैदेखि विमानस्थलमा एमाले नेता, कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। विमानस्थलमा अवतरण गरेपछि नेता–कार्यकर्ताले ओलीलाई फूलमाला तथा खादा लगाएर स्वागत गर्दै अभिवादन गरेका थिए।
चन्द्रगढी विमानस्थलबाट ओली स्थलमार्ग हुँदै इलामको फिक्कल पुगेका हुन्। कार्यक्रममा सहभागी भएपछि उनी शनिबार इलाममै बस्ने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।
सचिव कार्कीका अनुसार अध्यक्ष ओलीले आइतबार बिर्तामोडमा नेकपा (एमाले) झापाले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ को उद्घाटन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रमपछि ओली काठमाडौं फर्किने बताइएको छ।
निर्वाचनपछि पहिलोपटक गृह जिल्ला झापा हुँदै इलाम पुगेका अध्यक्ष ओलीको आगमनलाई एमाले नेता तथा कार्यकर्ताले विशेष महत्वका साथ लिएका छन्। ओलीको राजनीतिक यात्रा झापा आन्दोलनसँग जोडिएको छ भने झापा उनको राजनीतिक जीवनको महत्वपूर्ण आधारभूमिका रूपमा परिचित छ।
झापा तथा इलाम बसाइका क्रममा अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुका साथै नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने एमाले नेताहरूले बताएका छन्।


प्रतिक्रिया