अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनिकालले नछेकेको त्यो दशैं

अनिकालले नछेकेको त्यो दशैं


काठमाडौं – ‘ऐसेलु, मल्लिडो कतिको मिठो लाग्छ कान्छा ?’ बेलुकी पख आमाले सोध्नुभो ।
‘मेरी आम्मै ! मुख नै रसाईसक्यो । किन नलाग्नु नि मिठो, खोई कति छन् ?’ मैले हात थापें ।
‘त्यसो भए खान चाहि भोलि पानाखे जानु पर्छ है त’ आमाको कुरा सुन्ने बित्तिकै भुइँमा खुट्टा टेकिएनन् । त्यसदिन स्कूल गइनँ । भोलिको प्रतिक्षामा रहेँ ।
ताप्लेजुङ्गको तमोर खोला क्षेत्र, पानाखे भन्ने लेकाली बस्ती हुँदै हामी सिरेगु खर्क धाउँने गर्दथ्यौं । गोठबाट फर्कदा भुनेमा दही–मोही ओसाथ्र्यौं । ०३८ सालको जेठ महिनाको कुरा रहेछ । भालुको मन खन्यूमाथि भने झैं, आफ्नो त दिमाग पाखाभरीका पहेँलपुर ऐसेलु र मल्लिडोले भरियो, बेलुकैदेखि मुख रसायो । मिर्मिर उज्यालो के भएथ्यो हामी खेजेनिमबाट उकालो चढ्यौं । पाथिभरा चुलीबाट झुल्किएका सूर्यदेवले ताकत देखाएपछि पो भोक र गर्मीले सताउनसम्म सतायो ।
मामाङ्खे कटेर मेथिम खोला तर्र्यौं । अब पानाखेको उकालो सुरु भयो ‘लौं, भोक मेटाउँदै गर है बाबै !’ आमाले पोल्टाबाट भटमास झिकेर दिनु भो । पाखाभरि ऐसेलु पहेँलपुर देखिए । दाँयाबाँयाका ऐसेलुका झाडीमै आफू हराई दिएँ । आहा ! क्या मज्जा आयो । ऐसेलुसँगै नेपाले भटमास चपाएको त्यो स्वाद अहिलेसम्म जिब्रामै झुण्डिएको छ ।
स्वाँ स्वाँ गर्दै ठाडो उकालो चढियो । खानाको समयमा पानाखे पुगियो । गैराघरे (ध्रुव दाइ) र भाउजुले खुबै सत्कार गर्नु भो । खानपिन पछि खै के के भलाकुसारी चले कुन्नि, दाइले थाङ्ग्राबाट मकैका झुत्ता झिकेपछि हामी सबै धमाधम नङ्ग्याउन थाल्यौं । आफ्ना कलिला हातमा ठेला उठेपछि कर्दले बाटो लगाई दिएँ । आमाले भने छोडाई रहनु भो ।
‘आफ्नो त दशैंको जाउलो, बल्ल जोहो गरियो । यहि हो नि साँइली आमा !’ भाउजुले मुस्कुराउदै आमालाई सुनाउनु भो ।
‘ए’– स्विकृतीको भावभंगीमा आमाको मुन्टो हल्लियो । त्यसपछि, भाउजुले पाथीले भरेर कुम्लो बनाई दिनु भो । मैले दृष्यह हेरिरहेँ । कुराहरु सुनिरहेँ ।’ च्याँख्लाको जाउलो कस्तो हुँदो हो कुन्नि ?’– मनमनै सोची रहेँ ।
‘हे दैव ! यो साल छोराछोरीहरु के खाएर बाँच्ने हुन् कुन्नि ?’– आँगनको डिलबाट बारीको सेरोफेरो नियाल्दै आमाको ओठबाट सुस्केरा सुनियो ।
त्यसो त ०३७ साल जेठ महिनामा, दोहोर्याएकालहलह मकै असिनाले सिक्रो त बनायो बनायो फेरि हुरीले सोत्तर बनाई दिएको सम्झना छ । सदाझैं आँगनमा मकैको थाङ्ग्रो बाले राख्नु भएन । र नै त्यो साल गहुँ र भटमासले भोक मेटाईयो, ठेकाको मोही पिएर भोकको ज्वाला निभाइयो। पछि पानाखेबाट फर्किए पछि पो भुटेका मकै स्वादले चपाइयो ।
पछि असारको अन्त्यतिर तमोरमा ठुलो बाढी आयो । भर्खरै रोपाइँ सकिएको हाङ्बुरुङ बेँसीमा बाढी पसेर रजाइँ गर्यो । सेताघरे साईँला, कोठेबारे कान्छा, नयाँघरे, सुन्तले, जौबारे, खुन्द्रुके कान्छा तथा गैराघरे लगायतका धान खेत सबै बगायो । अझ पुछारको गैरीखेत बगरमै परिणत भयो ।’ अब गाउँघरमा अनिकालले सखाप पार्ने भो ।’ एकातर्फ बुढापाकाहरु चिन्तित भए । अर्कोतर्फ ‘दशैं आउला, खाउँलापिउँला’ भन्दै हामी भुराहरु औंला भाँचीभाँची आँगनीमा नाच्दै, दशैंको ब्यग्र प्रतिक्षामा थियौं ।
नभन्दै दशैं आइपुग्यो, एक दिनको कुरा, गैराघरे ठूल्दाई र भाउजु एकाबिहानै हाम्रो घरमा टुप्लुक्क आइपुग्नु भो । खै के कुरा भए कुन्नि, आमाले त्यसैगरी पाथीले भरेको धान कुम्लो बनाएर हालीदिनु भो ।’ यति अक्षेताले अब हाम्रो पनि कसो दशैं नआउला त ?’ भाउजुको खुसी एक्कासी बाहिरिएको सुनियो ।
नभन्दै हामी भुराहरुले ब्यग्र प्रतिक्षा गरिएको दशैं तोकिएको समयमा आएरै छाड्यो। त्यसको तयारीमा गाउँलेहरू मिलेर बाटाघाटा फाँडे। औंसीमा जमरा राखे, गाउँमा नगरा बजे, सबैले रातोमाटो र कमेरोले घर सिँगारे । गल्लीमा लिंगे पिङ र कतै रोटे पिङ थापिए । पर्मा गरेरै ढिकीको डङ्डङ् आवाजसँगै चिउरा कुटिए । दर्जीहरु हातेकललिएर घर–घर पसे ।’ एति नाना फाट्यो, मुसुरीले काट्यो …’ भन्दै हामी झुत्रो दौराको फेर उचालेर दर्जिलाई देखाई दिन्थ्यौं । आहा ! हामी भुराहरु कै निम्ति दशैं आयो । नयाँ नाना पाउनकै निम्ति । सुब्बाका खलकहरुले मौलोमा राँगा छिनाए । अरुहरुका घरघरमा, भिमसिने, सगुने र बुढीबजुका खसीबोका काटिए । र, नै हामीले अघाउन्जेल चिची–माम पायौं । जुत्ता चप्पल नभएर के भो, हामी अझै नयाँ नानामै ठाँटिएर खाली खुट्टैले मामाघर गयौं । वल्लाघर र पल्लाघरमा आलोपालो टीका जमरा थाप्यौं, आहा ! वर्षौ पिच्छे पाएका नयाँ नाना र केरा चिउरामै हामी रमायौ । बा–आमाहरुलाई खै के के भो कुन्नि तर, त्यो साल झनै रमाइलो दशै आयो । परन्तु आज स्मरण भै रहेछ’ एतिनाना फाट्यो, मुसुरीले काट्यो….।