काठमाडौँ-२०६४ सालपछिका हरेक निर्वाचनमा आफ्नो आकार घटाउँदै लगेको नेकपा माओवादी केन्द्र २०७९ को निर्वाचनको संघारमा आइपुग्दा अनौठा लक्षण देखाउन थालेको छ । यसका शीर्ष नेताहरू कोही चुनावबाट भाग्ने त कोही निर्वाचन क्षेत्र छोड्दै नयाँ क्षेत्रको खोजीमा हिँडेका छन् ।
पछिल्ला दुई दिनयताका निर्णय हेर्दा काँग्रेसको काखमा बसेर पनि माओवादीका शीर्ष नेता चुनावसँग कति डराएका रहेछन् भन्ने स्पष्ट बुझ्न सकिन्छ । त्यसको उदाहरणका रूपमा अध्यक्ष प्रचण्डले चितवन छाड्नु र सभामुख अग्निप्रसाद सापकोटाले चुनावै नउठ्ने घोषणा गर्नुलाई लिन सकिन्छ ।
उम्मेदवारी दर्ताको दुईदिन अघि अध्यक्ष प्रचण्डले चितवन छोडेर गोरखा भाग्ने निर्णय लिए । हरेक चुनावमा उपिंया झैँ फड्कने बानी परेका प्रचण्डले चितवनमा चुनाव अघि नै हार्ने दृश्य देखेपछि त्यहाँबाट भागेका हुन् । २०६४ को निर्वाचनमा रोल्पा र काठमाडौँ १० बाट चुनाव जितेका प्रचण्ड २०७० को निर्वाचनमा काठमाडौँ १० र सिराहाबाट उम्मेदवार भए । तर प्रचण्डलाई जिताएर पठाएको ६ वर्षमा उनका अनेक रूप, जनविरोधी क्रियाकलाप र व्यवस्था नै धरापमा पारेर देशै कब्जा गर्ने गैह्र राजनीतिक खेलकुद देखेर काठमाडौँका जनताले प्रचण्डलाई भारी मतले हराइदिए ।
सिराहामा प्रचण्डले जितेको त्यति बेलाको बनावटी कथा पनि उस्तै रोचक छ । मतदान भएकै साँझ माओवादीमा व्यापक रूपमा भोट कटौती भएको सूचना पाएका प्रचण्डले मतगणनामा देशव्यापी अवरोध सृजन गर्न उर्दी जारी गरे । उनका कार्यकर्ता २०६४ सालकै शैलीमा धम्कीपूर्ण व्यवहारका साथ मतगणना स्थलमा तैनाथ भए । तर त्यसबेला सम्म माओवादी दारा नंग्रा झिकेको बाघ सरह भइसकेको थियो । उसको धम्कीबाट न प्रहरी प्रशासन डरायो न अरु दलहरु । माओवादीका बहिष्कारका बीच गणना निरन्तर भएपछि लुसुक्क माओवादी गणनामा सामेल भयो ।
तर यही सेरोफेरोमा प्रचण्ड चुनाव लडेको सिराहामा नक्कली मत झरेको बाकस खडा गरेर एमालेका लिलानाथ श्रेष्ठलाई हराउँदै प्रचण्डलाई विजयीको घोषणा गरियो ।
२०७४ को निर्वाचनमा कहाँ फड्कने भनेर बाटो हेरिरहेका प्रचण्डले छोरीको साथ र एमालेको सहारामा चितवन क्षेत्र नं ३ बाट चुनाव लडे । तर एमालेले सहारा नदिने भएपछि प्रचण्डले यहाँ पनि आफूलाई असुरक्षित देखे । यसको अर्थ पाँच वर्षमा उनले गरेका गैह्र राजनीतिक हर्कत, सत्ता लिप्साको उच्चतम दुरुपयोग चितवनवासीले देखेकै थिए । ‘बाठा’ चितवनवासीले आफूलाई पाँच वर्षमा गरेका गैह्र राजनीतिक क्रियाकलापको मूल्यांकनका आधारमा चुनाव हराउँछन् भन्ने थाहा पाएपछि प्रचण्डले त्यहाँबाट भाग्ने निर्णय गरेका हुन् ।
चितवनबाट भागेर उनी आफ्ना पुराना दुस्मन बाबुराम भट्टराईको भाग खोस्न गोरखा पुगेका छन् । माओवादीमा छँदा पनि बाबुरामसँग प्रचण्डको सम्बन्ध राम्रो थिएन । कहिले के अभियोगमा कहिले के अभियोगमा श्रम शिविरमा राख्नेदेखि नजरबन्दमा राखेर प्रचण्डले बाबुरामलाई हैरान पारेका थिए । २०७२ सालपछि त प्रचण्डलाई छोडेर बाबुरामले नयाँ शक्ति नामको पार्टी खोले । तर त्यो पार्टी अहिले कहाँ पुग्यो । बाबुराम कहाँ पुगे सबैलाई जगजाहेर नै छ । रोचक त के छ भने उनै बाबुरामले गोरखामा केही वर्ष अघि प्रचण्डले माओवादी लडाकुका नाममा आएका ४० अर्बभन्दा बढी रकम भ्रष्टाचार गरेकोले त्यसको छानबिनको माग गरेका थिए । त्यो भिडियो अहिले पनि हेर्न सकिन्छ । तिनै बाबुरामले अब ४० अरबको भ्रष्टाचार करार गरेका प्रचण्डलाई काँधमा बोकेर गोर्खालीहरूका घरघरमा कसरी पुर्याउलान् ? मानिसहरू यो रोचक र लज्जास्पद दृश्यको पर्खाइमा छन् ।
अर्का क्षमता विहीन पात्र हुन् सर्वोच्च अदालतमा ज्यान मुद्दा विचाराधीन रहेका सभामुख अग्नि सापकोटा । उनले चाहिँ क्षेत्र बदल्ने भन्दा पनि चुनावबाटै भाग्ने साहसिक निर्णय लिएका छन् । सभामुख हुँदा उनले गरेका गैह्र संसदीय क्रियाकलापका दृश्य सिन्धुपाल्चोके जनताले पनि हेरेका छन् । जेलमा हुनु पर्ने मान्छे सभामुखको कुर्सीमा पुगेको भन्दै कनकमणि दीक्षित, सुशील प्याकुरेल जस्ता अधिकारकर्मीको धर्ना र वक्तव्य सिन्धुका जनताले देखेकै छन् । गत निर्वाचनमा एमालेको भोट र यस निर्वाचनमा काँग्रेसको भोटले चुनाव जित्ने सपना देखेका सापकोटालाई काँग्रेसका मोहन बस्नेतले साथ नदिने भएपछि सापकोटाले चुनावी मैदानबाट भाग्ने निर्णय गरेका हुन् । ‘मर्नु भन्दा बहुलाउनु निको’ भन्ने नेपाली उखान जस्तै चुनावी मैदानमा गएर काँग्रेसकै असहयोगले लज्जास्पद हार व्योहोर्नु भन्दा वाक ओभर दिनु नै सापकोटाले सही ठाने ।
करिब १५ दिन अघि चितवनमा घरबासको व्यवस्था गरेका प्रचण्डले चितवन नै छोडेर भाग्नु र सापकोटाले निर्वाचन नै छोडेर भाग्नुमा माओवादीको आउँदा दिन दुर्दान्त हुँदैछन् भन्ने ठूलो प्रमाण हो । प्रचण्डका साथ सहयोगीले निर्वाचन क्षेत्रबाट भाग्नुलाई ‘महान काम’को संज्ञा दिए पनि यसको सोझो अर्थ छ : प्रचण्डसँग जनतालाई विगत पाँच वर्षमा गरेका ग्रैह्र राजनीतिक, भ्रष्ट र जनविरोधी क्रियाकलापको जवाफ चितवने जनतालाई दिने सामर्थ्य नभएर नै उनी निर्वाचनको मुखमा कुम्लोकुटुरो बोकेर गोर्खातिर भागेका हुन् ।







प्रतिक्रिया