खोटाङ – सत्ता गठबन्धन र पार्टी केन्द्रको निर्णयविपरीत नेपाली कांग्रेस खोटाङले उम्मेदवारी दर्ता गराउने भएको छ। असन्तुष्ट जिल्ला नेताहरुको केहीबेर पहिले दिक्तेलमा सम्पन्न बैठकले गठबन्धनको निर्णयविपरीत उम्मेदवार उठाएको हो।
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको खोटाङमा कांग्रेसले पूर्वराज्यमन्त्री सर्वधन राईलाई उम्मेदवार बनाउने भएको छ। त्यस्तै पूर्व जिल्ला सभापति सुवासकुमार पोखरेल प्रदेश (क) मा र पूर्व उपसभापति धर्मराज पोखरेललाई प्रदेश (ख) मा उम्मेदवार बनाउने निर्णय भएका कांग्रेस जिल्ला पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो ।
गठबन्धनमा कांग्रेसले खोटाङमा प्रदेश (ख) मा मात्रै टिकट पाएको थियो। जसमा प्रदेश १ का कांग्रेस महामन्त्री भूपेन्द्र राईलाई टिकट दिएको छ। राईले यसअघि गठबन्धनसहित पुगेर उम्मेदवारी दर्ता गराइसकेका छन्। गठबन्धनबाट प्रतिनिधि सभामा माओवादीका रामकुमार राई, प्रदेश (क) मा एकीकृत समाजवादीका बीरबलकाजी राई र प्रदेश ख मा भूपेन्द्रले उम्मेदवारी दिएका हुन्।
तर जिल्लाका कांग्रेस नेताहरु छुट्टै नाराजुलुससहित निर्वाचन कार्यालयतर्फ उम्मेदवारी दिन जाँदैछन्।







प्रतिक्रिया