अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको क्षेत्रमा माहोल तातिँदै, हिक्मत कार्कीको आक्रामक चुनाव प्रचार

अध्यक्ष ओलीको क्षेत्रमा माहोल तातिँदै, हिक्मत कार्कीको आक्रामक चुनाव प्रचार


दमक – नेकपा एमाले पोलिटब्युरो सदस्य हिक्मत कार्कीले सत्ता गठबन्धनका दलहरु जित्नका लागि नभएर हराउनका लागि चुनावी मैदानमा आएको दाबी गर्नुभएको छ।

एमालेलाई हराउने मात्र गठबन्धनको उद्देश्य रहेको नेता कार्कीको भनाइ छ । स्थानीय तह चुनाव गठबन्धन भर्सेस एमाले भएको स्मरण गर्दै नेता कार्कीले एमालेले बहुमत हासिल गर्ने बताउनुभयो ।

स्थानीय चुनावमा लोकप्रिय मतमा एमाले अग्रणी रहेको भन्दै नेता कार्कीले त्यही आधारमा पनि आगामी चुनावमा एमालेले विजय हासिल गर्ने बताउनुभयो ।

जसपा र राप्रपालाई दिएको केही सिट बाहेक एमालेले १४१ सीटमा चुनाव लड्न गइरहेको उहाँले बताउनुभयो । झापा क्षेत्र नम्बर-५ (क) बाट प्रदेश सभाका लागि उम्मेदवार बन्नुभएका नेता कार्कीले आज बिहान गौरादहमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भन्नुभयो, ‘गठबन्धनका दलहरुबीच चरम अन्तरविरोध र विवाद छ, उहाँहरु बागी उम्मेदवार पीडित बन्नुभएको छ ।’

प्रेस चौतारीले आयोजना गरेको भेटघाटमा नेता कार्कीले एमालेले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकार र हामीले नेतृत्व गरेको प्रदेश सरकारले गरेका विकास निर्माणको कामका आधारमा नै चुनाव जित्ने उहाँले बताउनुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर एमालेको सरकारले दाबी गरेको र अध्यक्ष ओली नेतृत्वको सरकारले सो क्षेत्रलाई नेपालको मानचित्रमा राखेको बताउँदै उहाँले भन्नुभयो, ‘सो भूभाग हामी फिर्ता लिएरै छाड्नेछौं ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु देउवाबीच दिल्लीमा भएको रहस्यमय भेटवार्तापछि प्रतिनिधि सभामा नागरिकता विधेयक ल्याइएको नेता कार्कीले बताउनभुयो । उहाँले भन्नुभयो, ‘हामी नगरिकता समस्या समाधान गर्न चाहन्छौं, कुनै पनि नागरिक नागरिकताबाट वञ्चित नहोउन् भन्ने चाहन्छौं, तर गठबन्धनले नागरिकतामा घृणित राजनीति गरेको छ ।’

नगरिकता वितरणका नाममा नेपालीलाई नै अल्पमतमा पार्ने प्रयास गरिएको नेता कार्कीले बताउनुभयो । नेपालको नागरिकतालाई भारतको राशन कार्ड र मतदाता कार्ड जस्तो बनाउन खोजिएको भन्दै उहाँले नागरिकता नीतिबाट नेपालमा नेपालीलाई अल्पमतमा पार्न खोजिएको प्रष्ट पार्नुभयो ।

गठबन्धन सरकारले देशलाई श्रीलंका बनाउन खोजेको भन्दै नेता कार्कीले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिजोभन्दा दुई गुणा महंगी बढेको छ, हिजो ११ महीनाका लागि विदेशी मुद्रा सञ्चिति थियो, आज तीन महीनाका लागि पनि सञ्चिति छैन, तरलता अभावले उद्योग व्यवसाय ठप्प भएको छ, प्रधानमन्त्री शेरबहादुर देउवाका छोराको व्यापारलाई कर छुट दिइएको छ, उहाँको व्यापार पोस्ने र सर्वसाधारणको व्यापार मास्ने काम गरिएको छ ।’ टाट पल्टाएर नेपाललाई श्रीलंका बनाउने खेलमा अहिलेको सरकार र गठबन्धन लागेको भन्दै उहाँले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बनेपछि यस्तो आर्थिक संकटबाट देशलाई बाहिर निकाल्ने प्रतिबद्धता जनाउनुभयो ।

अहिलेसम्म गर्न नसकेका काम एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारका पालामा भएको पनि नेता कार्कीले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘केपी ओली सरकारको नेतृत्वमा जति काम भयो, त्यति काम विगतमा कहिले पनि भएको थिएन, हाम्रो सरकारले हुलाकी राजमार्ग बनाउन उच्च प्राथमिकता दियो, हाम्रो सरकारले विकास खर्च उच्च रुपमा गरेको छ, अहिलेको सरकारले विकास खर्च गर्न नै सकेको छैन ।’

प्रदेश-१ सरकारका पूर्व मन्त्री समेत रहनुभएका नेता कार्कीले भ्युटावरलाई लिएर भएका अनेक भ्रमप्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘दमकमा बनिरहेको भ्युटावर मात्र होइन, त्यो बहुउद्देश्यीय व्यावसायिक भवन हो, त्यो भवन पर्यटकीय गन्तव्य पनि हुनेछ, व्यापारिक केन्द्र पनि हुनेछ । विगतमा शवदाह गरिने एमालेले रंगशाला बनाउन खोजेको बताउँदै कार्कीले भन्नुभयो, ‘त्यहाँ आदिवासी रंगशाला बनाउँदैछौं, दमकमा अर्को ठाउँमा रंगशाला बनाइने भयो, आदिवासी रंगशाला नबन्ने भयो भन्दै हल्ला चलाइएको छ, यो हल्ला नपत्याउनु होला, त्यहाँ आदिवासी रंगशाला बनाउन मेरै पहलमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।’

सो क्षेत्रमा रहेका वीउ दलनहरुको उचित व्यवस्थापन गरेर वागवानी केन्द्र बनाउने आफूहरुको योजना रहेको सुनाउँदै कार्कीले भन्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकार बनाइसकेपछि हामी यो काम गर्दैछौं, प्रदेश सरकारको आयोजना बैंकमा यो योजना सामेल भइसकेको छ ।’

गौरादहमा रहेका पोखरीहरुलाई पनि पर्यटकीय क्षेत्र बनाउने घोषणा उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘गौरादहमा सरकारी कृषि कलेजको स्थापना गरिसकेका छौं, आगामी पाँच वर्षभित्र यहाँ भेटेनरी पढाई गर्नेछौं, भेटनरी शिक्षण अस्पताल पनि बनाउँदैछौं, यो काम पनि पाँच वर्षभित्र हुनेछ ।’

हुलाकी राजमार्गमा रहेको गौरीगञ्जलाई स्मार्ट सिटी बनाउने योजना आफूहरुले ल्याएको तर अहिलेको सरकारले बजेट नदिइएको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको सरकार विकास निर्माणमा उदासीन भएकाले विकास निर्माणको काम हुन सकिरहेको छैन, यहाँको छोटी भन्सारलाई ठूलो भन्सार नाका बनाउन हामीले पहल गरिरहेका छौं ।’

क्षेत्र नम्बर ५ को क क्षेत्रमा सडक निर्माण र स्तारोन्नतिको कामबारे बताउनै नपर्ने समेत कार्कीले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘क्षेत्र नम्बर ५ को (क) क्षेत्रमा सडक निर्माण र स्तारोन्नतिको काम तिब्र रुपमा भइरहेको तपाईंहरुले देखिरहनु भएकै छ, गत पाँच वर्षमा यो क्षेत्रमा कति विकास भयो भन्ने हामीले बयान गरिरहननपर्ला, जनताले प्रत्यक्ष देखिरहेका छन्, भोगिरहेका छन्, आउँदो पाँच वर्षमा हामी यो भन्दा तीब्र गतिमा विकास गर्नेछौं, नेपालमा विकास गर्ने पार्टी एमाले मात्र हो, यो कुरा जनताले बुझेका छन्, त्यही अनुसार चुनावमा मतदान गर्नेछन् ।’