अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापालाई लालकिल्ला बनाउन कसैले रोक्न सक्दैन : शिव ढुंगेल 

झापालाई लालकिल्ला बनाउन कसैले रोक्न सक्दैन : शिव ढुंगेल 


झापा-मंसिर ४ का लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदो छ । जति मिति छोटिँदै छ, उतिनै राजनीतिक दल र उम्मेदवारहरुलाई मतदाता रिझाउने व्यस्तता बढेको छ । अझ मुख्य राजनीतिक दलका शीर्ष नेताहरूलाई त आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा बढी समय दिनु पर्ने  दबाब पनि छ । यसै क्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओलीले झापा आउने क्रम बढाई रहनु भएको छ । झापाका अन्य निर्वाचन क्षेत्रसँगै आफू समेत उम्मेदवार रहनु भएको क्षेत्र नं. ५ मा सघन रूपमा विभिन्न कार्यक्रममा सहभागिता जनाई रहनु भएको छ । 

समग्र झापामा चाहिँ नेकपा एमालेले निर्वाचनको तयारी कसरी गरी रहेको छ त ? आगामी चुनावी परिणाम बारे के छ अनुमान ? प्रस्तुत छ, यिनै विषयमा नेकपा एमाले झापामा सचिव शिव ढुंगेलसँग गरिएको यो कुराकानी:

झापामा एमालेले चुनावी तयारी कसरी गरी रहेको छ ?

स्वाभाविक रूपमा हामीले सबै स्थानीय तह र वडा सम्मानै आफ्ना तयारीहरू गरेका छौं । वडा भित्र पनि टोल कमिटी सम्मका संरचनाहरु परिचालित भएका छन् । उम्मेदवार मात्र होइन प्रत्येक पार्टी सदस्यहरू आफ्ना एजेण्डा र कार्यक्रम लिएर मतदाताहरूलाई भेटघाटमा व्यस्त हुनु हुन्छ । यसै गरी सबै जनवर्गीय संगठनहरु अहिले ऊर्जावान् भएर जनताका बिचमा पुगी रहेका छन् । समग्रमा भन्नु पर्दा चुनावी तयारी उत्साहप्रद छ, मतदाताहरूको प्रतिक्रियाबाट एमाले उत्साही छ । 

चुनावी परिणामका बारेमा के छ अनुमान ?

अनुमान लगाउन त्यस्तो गाह्रो छैन । म एउटा पार्टीको कार्यकर्ता भएर मात्र भनी रहेको छैन, प्रत्येक मतदाताहरूलाई सोध्नु होला । एमालेको जीत सहज छ । एमालेले राष्ट्रियताका बारेमा राखेको चट्टानी अडान, विकास निर्माणका सवालमा लिएका ऐतिहासिक निर्णय, राष्ट्रिय स्वाभिमान उच्च बनाउने बारेमा चालेका कदमनै एमालेको जीतको आधार हो । नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले गरेका कामले प्रत्येक नेपालीको शिर ठाडो पारेको छ । त्यसैले हामीले होइन, प्रत्येक मतदाताले प्रष्ट रूपमा भनी रहेका छन् झापामा मात्र होइन देश व्यापी रूपमा एमालेको जीत सहज छ । पहिलो पार्टी त बन्छनै बन्छ, हामी बहुमत सहितको पहिलो पार्टी बन्ने अभियानमा छौं । यो अभियानमा जनताबाट पाएको साथले थप ऊर्जा दिएको छ । 

तपाईँले यसो भनी रहँदा फेरि पनि राप्रपा, जसपा लगायतका दलसँग तालमेल गरेर चुनावी मैदानमा जानु परेको यथार्थ पनि त छ नि ?

हो, हामीले झापाको एउटा संघीय र दुई ओटा प्रदेश सभाको निर्वाचन क्षेत्रमा राप्रपालाई सघाएका छौं । जसपासँग पनि केही जिल्लाका निर्वाचन क्षेत्रमा तालमेल भएको छ । तर यो गठबन्धन होइन । राष्ट्रवादी शक्तिहरूका बीचमा केही स्थानमा तालमेल हुनुलाई अन्यथा लिनु पनि हुँदैन । जसरी अलोकतान्त्रिक रूपमा प्रतिपक्षी दलका विरुद्धमा सत्तासिन दलहरु गठबन्धन बनाएर चुनावमा भाग लिँदैछन्, यो कुरा जनताले बुझेकाछन् । त्यसैले एमाले प्रतिको जनविश्वासनै एमालेको जीतको बलियो आधार हो । सत्ता गठबन्धनलाई हारको पीडाले डल्लो पारि सकेको छ । जनताले एमाले प्रति देखाएको सद्भाव र विश्वासले उनीहरू जलेका छन् । 

झापामा एमाले बलियो छ भन्ने कुरा के ले पुष्टि गर्छ र ?

झापा वर्तमान एमालेको जन्मभूमि हो । २०२७÷०२८ सालमा झापा विद्रोहको सुरुवात यसै ठाउँबाट भएको हो जसको विस्तारित रूप अहिलेको नेकपा एमाले हो । यो विद्रोहका नेता अहिलेका पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । त्यसैले झापालीहरूका नसानसामा एमाले छ । झापालीहरूका मनमनमा एमाले छ । त्यो आत्मीयता मंसिर ४ गते मतको रूपमा सूर्य चिन्हमा रूपान्तरण हुन्छ । विगतमा एमालेले सरकार हुँदा गरेका विकास निर्माणका काम वा प्रतिपक्षमा हुँदा जनजिविका सवालमा एमालेले निर्वाह गरेको भूमिका झापाली जनताले देखेका छन् । 

वास्तवमा यो कुरा, हामीले बुझ्न र बुझाउन पनि जरुरी छ । हामीले जित्छांै, जित्छौं भनी रहँदा कसरी जित्छौ पनि भनेर बुझ्नु पर्छ भन्ने लाग्छ । तर झापाको हकमा यो कुरा कसैले बुझ्न बाँकी छ भन्ने मलाई लाग्दैन । किन पनि भने, कुनै पनि पार्टीलाई चिन्ने–जान्ने भनेको आफू नजिकै रहेको त्यो पार्टीको कार्यकर्ता कस्तो छ, त्यसको व्यवहारले पनि हो । यो कुरामा हामी एमालेका कार्यकर्तालाई के गर्व छ भने, एमालेका प्रत्येक पार्टी सदस्यहरू समाजमा आदर्श व्यक्तिका रूपमा रहेका छन् । एमालेको मान्छे इमानदार हुन्छन्, घुस खाँदैनन्, झुठ बोल्दैनन्, सत्य र न्यायको पक्षमा हुन्छन् भनेर सबैले बुझेका छन् । त्यस्ता कार्यकर्ताहरूको पार्टी हो नेकपा एमाले । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यसम्पादन हेर्नु भयो भने पनि थाह हुन्छ, जनस्तर सम्म एमाले प्रतिको दृष्टिकोण कस्तो छ भनेर । 

 यो देशलाई विकासको नयाँ युगमा प्रवेश गराउने एमाले सरकारका कार्यक्रमहरू, पार्टी अध्यक्षको दूरदर्शिता, राष्ट्रियताका लागि लिएका अडान जस्ता कुराहरू त छँदैछन् । यी सँगै एमालेका प्रत्येक पार्टी सदस्यका गतिविधि र कार्यशैलीकै कारण एमाले अहिले जनजनमा प्यारो र लोकप्रिय छ । एमालेको इतिहास, वर्तमान र भविष्यनै हो, हामी जनताका बिचमा लोकप्रिय छौं भन्ने कुरा । त्यसैले हाम्रो जीत कठिन छैन भन्ने लाग्छ । 

एमालेले नजिते चाहिँ के हुन्छ त ?

एमालेले नजिते के हुन्छ भन्ने कुरा हामीले खासै भन्नु पर्ला जस्तो लाग्दैन, जनताले बुझेका छन् । अहिलेको गठबन्धन सरकारका गतिविधिलेनै पुष्टि गर्छ, एमाले सरकारमा नहुँदा के हुन्छ भनेर । यदि यहि गठबन्धन सरकार रहि रहने हो भने विकास निर्माण ठप्प हुन्छ, देशमा सुशासनको परिकल्पना गर्न सकिँदैन, लोकतन्त्र कमजोर हुन्छ, राज्यका संयन्त्रहरू प्रभावहीन पारिँदै लगिने छ । अझ भन्नु पर्दा एमाले सरकारमा नजाने, एमालेले यो देशको नेतृत्व नगर्ने हो भने नेपालको स्वाधीनता, राष्ट्रियतालाई कमजोर पारिँदै लगिने प्रष्ट छ । त्यसैले यो देशलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि गर्वसाथ उभ्याउन, देशको विकास निर्माणलाई गति दिन, परनिर्भरता अन्त्य गर्दै स्वाधीन अर्थतन्त्र कायम गर्न एमालेको जीत जरुरी छ, यो हाम्रो कुरा मात्रै होइन जनताको आवाज हो ।