अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले चुनाव जित्नुपर्छ : अध्यक्ष ओली

एमालेले चुनाव जित्नुपर्छ : अध्यक्ष ओली


कास्की – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य नै निर्धारण गर्ने बताउनु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले आज गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अबको निर्वाचनबाट देशले विनाशको बाटो कि विकासको बाटो रोज्ने पक्का गर्छ। देश पराधीन हुने कि स्वाधीन हुने फैसला निर्वाचनले गर्छ । हामीले यस निर्वाचनमा जित्नुपर्नेछ। संसदीय प्रणालीमा, लोकतन्त्रमा जनताका प्रतिनिधिले सरकार छान्छ। यसअघि जनादेशलाई कुल्चिएर परमादेशबाट सरकार बनाउने काम भए। त्यो गल्तीलाई यो निर्वाचनबाट सच्याउनुपर्छ।’

अध्यक्ष ओलीले केही प्रतिगामी तत्वहरुले संसद विघटन गरेर जनतामा जाने कुरालाई प्रतिगमन भनेको पनि बताउनु भयो ।

‌ओलीले २०७४ मा एमाले र माओवादी मिलेर ल्याएको घोषणा पत्र पुष्पकमल दाहाल प्रचण्डले लत्याएपछि आफूले ताजा जनादेशमा जान खोजेको बताउनु भयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘प्रचण्डले २०७४ को साझा घोषणा पत्र लत्याइसकेपछि अब त्यसको औचित्य थिएन। प्रचण्डले लत्याएकाले ताजा जनादेशमा गएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा संविधान बचायौँ भन्दैछन्। तर संविधान त कसले मारेको थियो र ! हामीले संविधानका कुनै धारा मिचेका थिएनौँ। ताजा जनानेशमा जाँदा संविधान मिचेको हुँदैन। बरु परमादेशबाट संविधान मिचिएको कुरालाई सच्याउनुछ।’

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका दलहरुले अलग अलग घोषणा पत्र ल्याएर रमिता देखाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उनीहरुको घोषणा पत्र कुन कार्यान्वयन गर्ने त ? दिशाहीन, योजनाविहीन उनीहरुले केही गर्नु नै छैन। यस्ता गन्तव्यहीन विचार भएकाले कर्ममाण्ड पूरा गर्न घोषणा पत्र ल्याए। उनीहरुको उद्देश्य नै सरकार बनाएर देश लुट्ने हो।’

अध्यक्ष ओलीले सरकार बनाउनकै लागि गठबन्धन विदेशीसँग लम्पसार पर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यही नीतिसहित गठबन्धन अघि बढेको छ। गठबन्धनले अस्थिरताबाहेक केही गर्दैन ।’