अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनपछि सत्ता गठबन्धन भत्किन्छ: टोपबहादुर रायमाझी

निर्वाचनपछि सत्ता गठबन्धन भत्किन्छ: टोपबहादुर रायमाझी


बुटवल – नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने बताउनुभएको छ  ।

सन्धिखर्कमा आज पत्रकारहरूसँग कुराकानी गर्दै नेता रायमाझीले शक्ति सन्तुलनमा समस्या भएर गठबन्धन विभाजन हुने बताउनुभयो ।

‘एउटा पार्टीलाई मिलाउन त कति समस्या छ” उहाँले भन्नुभयो, ‘गठबन्धन पछि फुट्छ । गठबन्धन भित्रका दलहरू पनि विभाजन हुन्छ । देश ध्रुवीकरणमा जान्छ ।’

गठबन्धन मात्र नभई गठबन्धन भित्रका दलहरूमा पनि आन्तरिक विभाजन आउने उहाँले दाबी गर्नुभयो ।

उहाँले गठबन्धन अहिले एजेन्डाविहीन भएको भन्नुहुँदै गठबन्धनका कुनै एजेन्डा नरहेको दाबी गर्नुभयो ।

‘काँग्रेस र कम्युनिष्ट छुट्याउन गाह्रो छ । अहिलेको गठबन्धन लेदो र खुदो मिसाए जस्तो छ । काँग्रेस ‘ककटेल’ जस्तो भएको छ’, उहाँले भन्नुभयो।

सत्तामा बसेका दलले प्रतिपक्षलाई हराउन गठबन्धन विश्वमा कहीँ नहुने बताउँदै चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउने उहाँको भनाइ छ ।

आफूले जिल्लामा समृद्ध अर्घाखाँचीको विकास गर्न ठुलो काम गरेको बताउँदै आफूले जिल्लामा १२ अर्बको विकास आयोजनाको काम गरेको बताउनुभयो।