अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको अर्थतन्त्र संकटमा छ : विष्णु पौडेल

देशको अर्थतन्त्र संकटमा छ : विष्णु पौडेल


बुटवल – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले बुधबार सैनामैना नगरपालिकामा घरदैलोका क्रममा मुलुक डरलाग्दो आर्थिक संकटमा फसेको बताउनुभएको हो । उहाँले सबै सूचकांक सकारात्मक नरहेको बताउँदै महँगी, बेरोजगार र तीव्र आर्थिक संकटले कतै पनि मन बुझाउने ठाउँ नरहेको दाबी गर्नुभयो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेको तथ्यांकमा सबै आर्थिक सूचकांकहरू नकारात्मक देखिएको बताउँदै उहाँले मुलुक निराशाजनक स्थितिमा पुगेको टिप्पणी गर्नुभयो । पछिल्लो तथ्यांकअनुसार मुलुकको मुद्रस्फिीति ८ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ दशमलव ४९ रहेको थियो ।

चरम मूल्यवृद्धि बेरोजगारीका कारण युवाहरू विदेश पलायन हुने दर अस्वाभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गर्नुभयो । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उहाँले बताउनुभयो। उपाध्यक्ष पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिंडाउन नसक्दा अकल्पनीय ढंगले मुलुकको स्थितिले बाटो बिराएको दाबी गर्नुभयो ।

नेता पौडेलले बुटवल-गोरुसिङ्गे हुँदै चन्द्रौटा जोड्ने सडक ६ लेनमा बिस्तारका लागि केही महिनामै टेण्डर प्रक्रियामा जाने बताउनुभयो । बेलहिया–बुटवल ६ लेन सडक निर्माणमा भएका कमजोरीलाई सच्याउँदै थप आकर्षक र व्यवस्थित ढंगले पूर्व-पश्चिम राजमार्गअन्तर्गतको बुटवल–चन्द्रौटा सडकलाई बिस्तार गरिने उहाँले बताउनुभयो ।

सडक निर्माणका लागि विश्व बैंकसँग नेगोसेसन गरी डिपीआर निर्माणलगायतका काम अघि बढेको बताउँदै उहाँले ३८ अर्ब लागतमा सडक बिस्तारको काम हुने उल्लेख गर्नुभयो । पौडेलले यो सडक निर्माणसँगै रुपन्देहीको सैनामैना तथा कपिलवस्तुलगायतका सहरहरूलाई थप व्यवस्थित र विकसित गराउने दाबी गर्नुभयो ।

सैनामैनामा निर्माणाधीन मुलुककै लामो चक्रपथ निर्माणले सैनामैनाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । मुलुककै लामो  सैनामैना चक्रपथको ५७ किलोमिटर मध्ये करीब ४० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।

Skip This