अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिन तीन नेतालाई जिम्मेवारी

एमाले कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिन तीन नेतालाई जिम्मेवारी


काठमाडौँ-नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले बैठकमा प्रस्तुत भएका मस्यौदा प्रस्तावलाई एकीकृत गरी अन्तिम प्रतिवेदन तयार गर्ने जिम्मेवारी तीन नेतालाई दिएको छ।

काभ्रेपलाञ्चोकको पनौतीस्थित रमणीय पर्यटकीयस्थल बल्थलीमा दुई दिनसम्म बसेको कार्यदलको बैठकमा संयोजक उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र सदस्यसचिव महासचिव शंकर पोखरेललाई एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको हो।

कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फैलाइएको भ्रम र हल्ला चिरिएको छ। साथै पार्टीको समग्र कार्यशैली, संगठनात्मक अवस्था तथा संरचनामा आवश्यक पुनर्संरचना र पुनर्ताजगी ल्याउने विषयमा गम्भीर छलफल भएको उनले बताए।

सचिव बस्नेतका अनुसार कार्यदलमा प्रस्तुत दुवै मस्यौदा प्रस्ताव र बैठकका क्रममा सदस्यहरूले राखेका सुझावलाई समेटेर अन्तिम रूप दिने जिम्मेवारी बादल, पौडेल र पोखरेललाई दिइएको हो।

बैठकले वर्तमान सरकारका ‘अधिनायकवादी, फासिवादी तथा जनविरोधी गतिविधि’ को विरोध गर्दै जनताको पक्षमा दृढ, एकताबद्ध र जुझारु संगठन निर्माण गर्ने विषयमा प्राप्त सुझावलाई समेत छलफलमा समेटेको जनाइएको छ।

कार्यदलको अर्को बैठक आगामी असोज १ गते बस्नेछ। सोही बैठकमा तीन नेताले एकीकृत प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको कार्यदलका सदस्यहरूले बताएका छन्।