अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले ममाथि ज्यादती गर्‍यो: दुर्गा प्रसाईं

सरकारले ममाथि ज्यादती गर्‍यो: दुर्गा प्रसाईं


काठमाडौँ-मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आफूलाई एयरपोर्टमा पत्रकार सम्मेलन गर्न नदिएर ज्यादती गरेको आरोप लगाएका छन्।

एयरपोर्टमा पत्रकार सम्मेलन गर्न रोकिएपछि प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै सरकारको उक्त कदमप्रति असन्तुष्टि जनाएका हुन्।

प्रसाईंले जेनजी आन्दोलनका क्रममा संसद्, सिंहदरबारलगायतका भौतिक संरचनामा भएको क्षतिसम्बन्धी षड्यन्त्रबारे आफूसँग धेरै भिडियो रहेको दाबी गरे। ती भिडियो चाँडै सार्वजनिक गर्ने उनले बताए।

‘ममाथि यो सरकारले ज्यादती गरेको छ, यसमा विज्ञहरू बोल्नुपर्छ,’ प्रसाईंले भने, ‘कोही विज्ञहरू अहिले पनि बालेनविना केही हुँदैन भनेजस्तो गर्छन्।’

उनले मुलुकमा सुशासनको अवस्था कमजोर रहेको र सरकारप्रति विश्वासको वातावरण बन्न नसकेको दाबी गरे। सरकारप्रति विश्वासको वातावरण नभएकै कारण लगानीकर्ताहरू नेपाल आउन छाडेको उनको भनाइ थियो।

प्रसाईंले मुलुकमा सबैभन्दा पहिले राष्ट्र जोगाउनुपर्ने भन्दै त्यसका लागि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए।

उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङप्रति आफूलाई कुनै व्यक्तिगत रिस नरहेको पनि स्पष्ट पारे। उनीहरूले राम्रोसँग काम गरे आफूले विरोध नगर्ने प्रसाईंको भनाइ थियो।