काठमाडौँ-नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।
काठमाडौँ प्रहरीले तामाङलाई सोमबार सिंहदरबारबाट पक्राउ गरेको हो। काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।
तामाङ प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्न बोलाएको बैठकमा सहभागी हुन सिंहदरबार आएका थिए । बैठकबाट बाहिरिएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउपछि तामाङलाई दरबारमार्गस्थित प्रहरी हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार तामाङविरुद्ध यसअघि नै अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भइसकेको थियो। मुद्दा दायर भएपछि उनी फरार रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङलाई मंगलबार अदालतमा पेस गरिने एसपी थापाले जानकारी दिए।


प्रतिक्रिया