काठमाडौं-काठमाडौं-हेटौंडा जोड्ने त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-९ अघोर बजार नजिक सडक भासिएपछि सवारी आवागमन प्रभावित भएको छ।
सोमबार बिहान करिब ९ः४० बजे सडकको तल्लो भाग भासिएपछि उक्त सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सडक भासिएसँगै सुरक्षा सतर्कता अपनाउँदै सवारी साधनलाई आलोपालो सञ्चालन गराइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय गरी वैकल्पिक ट्रयाक निर्माणको पहल भइरहेको छ। सडक मर्मत तथा यातायात व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली परिचालन गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर क्षेत्रमा त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि हेटौंडा–काठमाडौं आवागमनका लागि त्रिभुवन राजपथ वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ। त्यसका कारण पछिल्ला दिनमा यस राजमार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ। व्यस्त मार्गकै बीच सडक भासिएपछि यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया