काठमाडौँ – सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव जीवितै रहेको बताउनु भएको छ। मन्त्री कार्कीले मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्ने क्रममा बुधबार यस्तो बताउनु भएको हो ।
संसद् सचिवालयका महासचिवले जबरालाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिइसकेको अवस्थामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मन्त्री कार्कीले आगामी प्रतिनिधिसभामा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने बताउनु भयो ।
‘प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेश भएको छ । त्यो अर्को प्रतिनिधसिभामा छलफल हुने हो, त्यो विषय जीवितै छ,’ उहाँले भन्नुभयो, ‘यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधिसभामा हुन्छ, र छलफल भएरै निर्णयमा पुग्छ ।’




प्रतिक्रिया