काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
उधौली पर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै भण्डारीले विभिन्न जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको बताउनु भएको हो ।
उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसपर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले प्रकृतिसँग तादात्म्यता कायम गरी जीवन निर्वाह गर्ने अभ्यस्त किराँत समुदायले जाडो मौसम सुरु भएपछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको सन्देशमा उल्लेख गर्नुभयो ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने उल्लेख गर्दै भण्डारीले यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उल्लेख गर्नुभएको छ ।




प्रतिक्रिया