काठमाडौं–नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामार्फत एकताको सन्देश दिँदै आगामी स्थानीय तह, प्रदेश र राष्ट्रिय सभाका निर्वाचनमा सशक्त संगठनसहित अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
मङ्सिर २ गते बुधबार काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजित एमालेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीलाई भव्य सफलतामा पुर्याउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर जुट्नुपर्ने बताए। उनले बिरुवामा जल सिञ्चन गरी भेलाको उद्घाटन गरेका थिए।
‘यो भेलाको मूल सन्देश एकताको हो। हामी विजयको आत्मविश्वास लिएर जाँदै छौं। अब स्थानीय, प्रदेश, राष्ट्रिय सभाको चुनाव आउँदै छ। यी निर्वाचनहरुमा हामी सशक्त संगठन लिएर जाँदै छौं,’ ओलीले भने।
नेता तथा कार्यकर्तालाई चुनावी तयारीमा सक्रिय हुन निर्देशन दिँदै अध्यक्ष ओलीले अब आराम गर्ने समय नरहेको बताए। निर्वाचनको परिणामलाई भव्य सफलतामा पुर्याउन एकताको सन्देशलाई सङ्कल्पका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
‘हाम्रो आरामको जिन्दगी होइन। चुनावको परिणामलाई भव्य सफलतामा पुऱ्याउनु पर्छ। त्यसका लागि एकताको सन्देशलाई सङ्कल्पको रुपमा लिनु पर्छ,’ अध्यक्ष ओलीले भने।
सरकारप्रति आक्रोश, प्रतिरोधमा उत्रने चेतावनी
अध्यक्ष ओलीले वर्तमान सरकार स्वेच्छाचारी र फासीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
मुलुक आर्थिक, सामाजिक र सांस्कृतिक मूल्यमान्यताका हिसाबले खस्किँदै गएको तथा समाज उल्टो बाटोबाट अघि बढिरहेको उनको टिप्पणी थियो।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतको भूमिकाप्रति पनि ओलीले असन्तुष्टि जनाए। विगतमा अदालतबाट आफूअनुकूल फैसला भएको देखिएको भन्दै उनले अहिले प्रतिनिधिसभासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहे पनि फैसला हुन नसकेको टिप्पणी गरे।
पार्टी शुद्धीकरण र स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने पोखरेलको प्रस्ताव
भेलाको बन्दसत्रमा महासचिव शंकर पोखरेलले ‘पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरे। उनले पार्टीको संगठनात्मक जीवनमा देखिएका १४ प्रमुख समस्या औंल्याउँदै तिनको समाधानका उपायसमेत प्रस्ताव गरे।
पोखरेलले पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा स्थापित गर्दै स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित सम्पूर्ण पार्टीपङ्क्ति निर्वाचन तयारीमा केन्द्रित हुनुपर्ने बताए।
उनका अनुसार एमालेले निर्वाचन तयारीलाई ध्यानमा राखेर यसअघि नै हरेक पालिकामा पार्टी जागरण अभियानको संयोजन गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइसकेको छ।
एमाले सरकारका उपलब्धि प्रस्तुत
बन्दसत्रमा उपाध्यक्ष विष्णु पौडेलले ‘एमालेले देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्दै एमाले सरकारको नेतृत्वमा रहँदा तथा सरकारमा सहभागी हुँदा भएका विकास निर्माण, आर्थिक तथा सामाजिक उपलब्धिहरूको विवरण प्रस्तुत गरे।
उनले एमालेले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि लिएका पहलकदमीका कारण भौतिक पूर्वाधार, आर्थिक वृद्धि र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे।
संविधानमा समेटिएका नागरिकका मौलिक हक तथा राज्यको दायित्वलाई आधार बनाएर समाजवादउन्मुख सामाजिक–आर्थिक विकासका नीति अवलम्बन गरिएको पौडेलको भनाइ थियो।
स्थानीय निर्वाचन जित्न जनतामाझ जान अर्यालको आग्रह
स्वागत मन्तव्य दिँदै सचिव पद्मा अर्यालले आगामी स्थानीय तहको निर्वाचनलाई पार्टीका लागि राजनीतिक परीक्षाका रूपमा चित्रण गरिन्। उनले निर्वाचनमा जित हासिल गर्न पार्टी नेता तथा कार्यकर्ताहरू जनतासँग प्रत्यक्ष जोडिनुपर्ने बताइन्।
गत निर्वाचनमा भएको क्षतिको पूर्ति आगामी निर्वाचनबाट गर्नुपर्ने भन्दै अर्यालले जनताका गुनासा सुन्ने र समाधानका लागि पहल गर्ने काममा पार्टीपङ्क्ति सक्रिय हुनुपर्नेमा जोड दिइन्।
३ हजार ४१४ प्रतिनिधि सहभागी
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको राष्ट्रिय भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी छन्।
भेलामा पार्टी केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी छन्।
उद्घाटन समारोहमा एमाले वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्तलगायत शीर्ष नेताहरू उपस्थित थिए। साथै स्थायी कमिटी सदस्य, केन्द्रीय आयोगका अध्यक्ष तथा सम्मानित ज्येष्ठ कम्युनिष्ट नेताहरूको पनि उपस्थिति रहेको थियो।
पुराना वामपन्थी नेता मोहनचन्द्र अधिकारी, विजयलाल श्रेष्ठ, हरिचरण शिवाकोटी, वाचस्पति देवकोटालगायत ज्येष्ठ कम्युनिष्ट व्यक्तित्वहरू भेलामा अतिथिका रूपमा सहभागी थिए।
दोस्रो दिन शीर्ष नेताहरूले सम्बोधन गर्ने
दुई दिनसम्म चल्ने भेलाको दोस्रो दिन मङ्सिर ३ गते अध्यक्ष ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले विभिन्न विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।
ओलीले ‘आजका २ कार्यभार र गर्नुपर्ने १५ काम’, भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं’ तथा बादलले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौं’ विषयमा धारणा राख्नेछन्।
दोस्रो दिनको कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने एमालेले जनाएको छ।






प्रतिक्रिया