अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश र जनताको पक्षमा एमालेले गरेका कामको फेहरिस्त उपाध्यक्ष पौडेलद्वारा प्रस्तुत (पूर्णपाठ)

देश र जनताको पक्षमा एमालेले गरेका कामको फेहरिस्त उपाध्यक्ष पौडेलद्वारा प्रस्तुत (पूर्णपाठ)


काठमाडौँ-नेकपा (एमाले)ले २०४७ सालदेखि विभिन्न समयमा सरकारको नेतृत्व गर्दा तथा सरकारमा सहभागी हुँदा देश र जनताको पक्षमा गरेका महत्वपूर्ण काम तथा उपलब्धिहरूको फेहरिस्त सार्वजनिक गरेको छ।

बुधबार काठमाडौँमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा पार्टी उपाध्यक्ष विष्णु पौडेलले ‘नेकपा (एमाले)ले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्यहरू’ शीर्षकको दस्तावेज प्रस्तुत गर्दै राजनीतिक परिवर्तन, आर्थिक तथा सामाजिक रूपान्तरण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, ऊर्जा, पुनर्निर्माण र परराष्ट्र सम्बन्धका क्षेत्रमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका हुन्।

दस्तावेजमा २०४७ वैशाख ६ गतेको अन्तरिम सरकारदेखि २०८२ फागुन २४ सम्म एमाले अल्पमतको सरकारमा करिब नौ महिना, बहुमतको सरकारमा करिब तीन वर्ष, अन्य दल सहभागी सरकारको नेतृत्वमा करिब तीन वर्ष छ महिना र अन्य दलको नेतृत्वमा रहेको सरकारमा करिब पाँच वर्ष सहभागी भएको उल्लेख छ।

एमालेले आफू सरकारको नेतृत्वमा रहँदा वा सरकारमा सहभागी हुँदा गरेका कामको जिम्मेवारी लिने तर ३५ वर्षको समग्र राजनीतिक तथा शासन सञ्चालनको जिम्मेवारी आफ्नो पार्टीमाथि मात्र थोपर्न नमिल्ने स्पष्ट पारेको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा र ‘परिपूर्ण लोकतन्त्र’को मान्यताअनुरूप समाजवादउन्मुख आर्थिक–सामाजिक विकासको नीति अवलम्बन गरिएको दस्तावेजमा उल्लेख छ।

आर्थिक तथा सामाजिक सूचकमा सुधार

एमालेले २०४७/४८ सालको अवस्थासँग तुलना गर्दै देशका आर्थिक तथा सामाजिक सूचकहरूमा उल्लेख्य सुधार भएको दाबी गरेको छ। दस्तावेजअनुसार २०५२ सालमा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० मा २०.३ प्रतिशतमा झरेको छ। मानव विकास सूचकाङ्क ०.४३७ बाट ०.६०२ पुगेको र प्रतिव्यक्ति आय २०० अमेरिकी डलरबाट बढेर २०८२ मा १ हजार ५३५ डलर पुगेको उल्लेख छ।

त्यस्तै, २०४७ सालमा १ खर्ब २० अर्ब रुपैयाँ रहेको कुल गार्हस्थ्य उत्पादन हाल ६६ खर्ब पुगेको, वार्षिक बजेट ३१ अर्ब ५५ करोडबाट २१ खर्ब २४ अर्ब पुगेको तथा विदेशी मुद्रा सञ्चिति ४३ करोड ७० लाख डलरबाट बढेर २६ अर्ब ४८ करोड डलर पुगेको तथ्याङ्क प्रस्तुत गरिएको छ।

सामाजिक सुरक्षा, रोजगारी र स्वास्थ्य

सामाजिक सुरक्षातर्फ २०५२ सालमा मासिक १०० रुपैयाँबाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता हाल ४ हजार रुपैयाँ पुगेको र ३६ लाख नागरिक लाभान्वित भएको दस्तावेजमा उल्लेख छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा लाखौँ श्रमिक आबद्ध भई १ खर्ब २४ अर्ब रुपैयाँ जम्मा भएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीको प्रबन्ध गरिएको जनाइएको छ।

साक्षरता दर ३९.६ प्रतिशतबाट ७६.२ प्रतिशत पुगेको, औसत आयु ५५ वर्षबाट बढेर ७२ वर्ष पुगेको तथा बाल र मातृ मृत्युदरमा उल्लेख्य कमी आएको दस्तावेजमा उल्लेख छ। स्वास्थ्य बीमामा ८० लाख नागरिक आबद्ध भएको र एकैपटक ३९६ आधारभूत अस्पतालको शिलान्यास गरिएको पनि एमालेले जनाएको छ।

पूर्वाधार र यातायात विकास

भौतिक पूर्वाधारतर्फ देशको सडक सञ्जाल ८ हजार ३२८ किलोमिटरबाट बढेर १ लाख १० हजार किलोमिटर पुगेको उल्लेख छ। थानकोट, सिद्धबाबा र नागढुंगालगायतका सुरुङमार्ग निर्माणसँगै नेपाल सुरुङ युगमा प्रवेश गरेको तथा दर्जनभन्दा बढी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिएको दस्तावेजमा जनाइएको छ।

तुइन विस्थापन गरी १ हजार ४२३ झोलुङ्गे पुल र ९१५ पक्की सडक पुल निर्माण गरिएको, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तथा जयनगर–जनकपुर रेल सेवा सुरु भएको उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।

ऊर्जा, कृषि र डिजिटल विकास

ऊर्जा क्षेत्रमा विद्युत् जडित क्षमता २२७ मेगावाटबाट बढेर ४ हजार १२० मेगावाट पुगेको र विद्युत् पहुँच १० प्रतिशतबाट ९९ प्रतिशत पुगेको दस्तावेजमा उल्लेख छ। लोडसेडिङ अन्त्य भएको तथा भारततर्फ ३ हजार ७७७ गिगावाट घण्टा विद्युत् निर्यात भइरहेको दाबी गरिएको छ।

धान उत्पादन ३० वर्षको अवधिमा ३३ लाख मेट्रिक टनबाट ५९ लाख मेट्रिक टन पुगेको, वन क्षेत्र ३९ प्रतिशतबाट ४६ प्रतिशत पुगेको र ८५ प्रतिशत जनसङ्ख्यामा इन्टरनेट पहुँच विस्तार भएको जनाइएको छ। नागरिक एपलगायत डिजिटल सेवाको विस्तार, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, चोभार सुक्खा बन्दरगाह, दैलेख ग्यासखानी परीक्षण तथा निर्यात व्यापार १ खर्ब रुपैयाँ नाघ्नुलाई पनि उपलब्धिका रूपमा समेटिएको छ।

महिला सहभागिता र पुनर्निर्माण

तीन तहका जनप्रतिनिधि संस्थामा करिब ४१ प्रतिशत महिला प्रतिनिधित्व पुगेको, निजामती सेवामा महिलाको सहभागिता २९ प्रतिशत रहेको तथा ४५ लाख महिलाको घरजग्गामा स्वामित्व कायम भएको दस्तावेजमा उल्लेख छ।

२०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा करिब ८ लाख निजी आवास, ७ हजार ५२ विद्यालय र ६४० पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न भएको एमालेले जनाएको छ।

संविधान कार्यान्वयन र राष्ट्रिय हित

राजनीतिक तथा संस्थागत विकासतर्फ २०५२ सालको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रमदेखि संविधानसँग बाझिएका २०० भन्दा बढी कानुन संशोधन गरी संघीयता संस्थागत गर्ने काम भएको दस्तावेजमा उल्लेख छ। साथै, सिके राउत र नेत्रविक्रम चन्द नेतृत्वका समूहलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन भूमिका खेलेको दाबी गरिएको छ।

परराष्ट्र सम्बन्धमा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’को नीति अवलम्बन गर्दै नाकाबन्दीको सम्मानजनक समाधान, चीनसँग समुद्री बन्दरगाह उपयोग तथा भारतसँग जलमार्गसम्बन्धी सम्झौता गरिएको उल्लेख छ।

सीमा सुरक्षाका लागि २०८ स्थानमा बोर्डर आउट–पोस्ट (बीओपी) स्थापना गरिएको तथा संघीय संसद्बाट सर्वसम्मत संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन गरिएको विषयलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।

दस्तावेजमा भनिएको छ, ‘हामीले हाम्रो पार्टी सरकारको नेतृत्वमा रहँदा वा सरकारमा सहभागी हुँदा आर्थिक–सामाजिक रूपान्तरणका लागि पहलकदमी लिएका छौँ। त्यस अवधिमा, विशेषगरी पार्टी सरकारको नेतृत्वमा रहेको अवधिमा भौतिक पूर्वाधार, आर्थिक वृद्धि र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएका छन्।’

पौडेलले प्रस्तुत गरेको दस्तावेजले एमालेले सरकारको नेतृत्व र सहभागितामा हासिल गरेका उपलब्धिहरूलाई क्षेत्रगत रूपमा समेट्दै पार्टीको विकास, समृद्धि र सामाजिक रूपान्तरणसम्बन्धी राजनीतिक दृष्टिकोण कार्यकर्ता भेलामाझ प्रस्तुत गरेको छ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning