काठमाडौं – सञ्चारकर्मी सुधन ज्ञवालीलाई वर्ष २०२२ को नेपाल जेसिस उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको छ।
नेपाल जेसिसले देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रयास विधानमा उल्लेखनीय योगदान पुर्याए वापत ज्ञवालीलाई ‘नेपाल जेसिस उत्कृष्ट युवा पुरस्कार २०२२’बाट सम्मान गरेको हो।
बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा सम्मान प्रदान गर्ने कार्यक्रम रहे पनि मौसम प्रतिकूलताका कारण उपस्थित हुन नसकेको ज्ञवालीले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनमा कम्युनिकेसन एन्ड लिएजन अफिसरसमेत रहनुभएका ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयमा सञ्चार विज्ञ रहेर काम गरिसक्नुभएको छ । रेडियो नेपाल, बुटवल एफएम लगायतका सञ्चार गृहमा काम गरिसक्नुभएका उहाँ सकारात्मक सोच विकासका लागि नेपाल तथा प्रवासमा रहेका नेपालीहरुमाझ प्रेरक वक्ताको रुपमा उत्प्रेरणा प्रदान गर्दै आउनुभएको छ।
कोरोना महामारीले मानसिक स्वास्थ्यमा परेको असर न्यूनीकरण गर्न उत्प्रेरणा आवश्यक रहेको भन्दै ज्ञवालीले विभिन्न जिल्लामा अभियानकै रुपमा उत्प्रेरणा कार्यक्रम लैजानु भएको थियो ।






प्रतिक्रिया