अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायपालिकामाथिको प्रहारले लोकतन्त्र कमजोर हुन्छ: एमाले सांसद बराल

न्यायपालिकामाथिको प्रहारले लोकतन्त्र कमजोर हुन्छ: एमाले सांसद बराल


काठमाडौं-नेकपा एमालेका सांसद गुरु प्रसाद बरालले न्यायपालिकामाथि पटक-पटक भइरहेको प्रहारले लोकतन्त्रलाई नै कमजोर बनाउने बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बरालले २०८२ साल भदौ २४ गतेको घटनाले न्यायपालिकामाथि गम्भीर प्रहार गरेको बताए। उनका अनुसार त्यस क्रममा सर्वोच्च अदालतसहित देशका विभिन्न अदालतमा आगजनी तथा तोडफोड हुँदा ठूलो संख्यामा मुद्दाका महत्त्वपूर्ण मिसिल तथा अभिलेख नष्ट भएका छन्।

‘सम्मानित सर्वोच्च अदालत र देशका विभिन्न अदालतमा आगजनी र तोडफोड भयो। हजारौँ होइन, लाखौँ मुद्दाका महत्त्वपूर्ण मिसिल तथा अभिलेखहरू नष्ट भए,’ बरालले भने, ‘त्यसको प्रत्यक्ष असर आज पनि न्याय खोजिरहेका लाखौँ नागरिकमा परिरहेको छ।’

उनले अदालतका निर्णयप्रति राजनीतिक आक्रोश व्यक्त गर्दै न्यायपालिकालाई दबाब दिने, थर्काउने र अपमानित गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे। ‘अदालतलाई कमजोर पारेर लोकतन्त्र बलियो हुन्छ कि न्यायपालिकालाई स्वतन्त्र, सक्षम र निर्भीक बनाएर?’ भन्दै उनले सत्तापक्षका सांसदहरूबाटै अदालतमाथि निरन्तर प्रहार भइरहेको दाबी गरे।

सांसद बरालले संविधान र कानुनको सीमाभन्दा बाहिर गएर राज्य सञ्चालन गर्न खोज्ने जुनसुकै शक्तिलाई रोक्नु अदालतको संवैधानिक कर्तव्य भएको बताए। ‘अदालत कुनै सरकारको विरोधी होइन, संविधानको रक्षक हो। आज अदालतलाई दबाउने बाटो खोजियो भने भोलि सोही बाटोबाट नागरिकको न्याय पाउने अधिकारमाथि प्रहार हुनेछ,’ उनले भने।

संसद्को काम कानुन निर्माण गर्नु र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार न्यायपालिकाको भएको उल्लेख गर्दै बरालले अदालतलाई कब्जा गर्ने नभई स्वतन्त्र राख्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। अदालत कमजोर हुँदा सबैभन्दा पहिले नागरिकको न्याय पाउने अधिकार कमजोर हुने उनको भनाइ थियो।

बरालले संविधानमार्फत न्यायपालिकाको संरक्षण गर्नुपर्ने तथा अदालतको सुधारका लागि न्याय परिषद्लाई थप सशक्त र प्रभावकारी बनाउनुपर्ने धारणा पनि राखे।