काठमाडौं- नेकपा एमालेको केन्द्रीय सदस्य देवेन्द्र दाहालले पार्टीका नेता एउटै डुंगामा शयर गरिरहेकोले अध्यक्षलाई डुबाउन खोज्दा सबै डुबिने हेक्का राख्न उनले सचेत गराएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै दाहालले पुनगर्ठनका नाममा अध्यक्षलाई हटाउन खोज्दा कोही पनि बाँकी नरहने बताए ।
‘हामी एउटै डुंगामा यात्रा गरिरहेका छौं । अध्यक्षलाई डुबाउन खोज्दा अरु बाँकी रहदैनौ’ दाहालले भनेका छन् ‘त्यसैले विपक्षीले भन्दा चर्को गरी पार्टी भित्रैबाट अध्यक्षको विरोध गर्दा आफ्ना समर्थक गुमाइरहेकोप्रति पनि सचेत हुन नेताहरुलाई म आग्रह गर्दछु ।’
दाहालले पार्टी अध्यक्षको प्रतिवेदनले सत्य कुराको उजागर गरेको र देश र पार्टीको समस्या केलाउन सक्षम रहेको बताएका छन् । उनले प्रतिवेदनको कार्यान्वनमा गम्भिर चुनौती भए पनि वडातहसम्म यसलाई लागु गर्ने हो भने पार्टीप्रति आकर्षण बढ्ने बताएका छन् । पुनर्गठन कार्यदलले पार्टी कार्यकर्ताको भन्दा मनोगत धारणा बढी राखेको दाहालले बताए ।
पूर्वमन्त्री समेत रहेका दाहालले गतवर्षको जेनजी आन्दोलनको कारण के हो भन्ने प्रश्न पनि केन्द्रीय कमिटीमा उठाएका छन् । उनले त्यो असन्तुष्टी जनताकै तहको थियो वा अन्यत्रबाट परिचालित थियो स्पष्ट पार्न समेत माग गरेका छन् । अल्गोरिदमका भरमा जनताको दिमाग भुटेर बनेको सरकारले अध्यक्षलाई जेल हाल्दा पार्टी एक ढिक्का भएर प्रतिवाद गर्नुपर्नेमा अध्यक्षले राजिनामा दिनुपर्छ भनेर कराउने नेताहरु को को थिए उनीहरुको पहिचान गर्नुपर्ने दाहालले बताएका छन् ।



प्रतिक्रिया