अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला प्रशासन चितवनले सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु

जिल्ला प्रशासन चितवनले सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु


चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो ।

‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने छ । कर्मचारीहरुलाई सेवा प्रवाह प्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ्का अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाईम कार्ड’ को व्यवस्था गरिएको हो । उहाँका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गरिएको छ ।

सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा ‘हेल्प डेस्क’ राखिएको छ । जहाँबाट आवश्यक कागजपत्र पूरा भए नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने गरिन्छ । कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ ।

राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३० जना, राहदानीमा प्रतिघण्टा २० जना र  नागरिकता एवं प्रतिलिपी सेवाग्राहीको कागजपत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिने गरिएको छ । सेवा लिन आएका सेवाग्राहीहरुले टाइम कार्ड लागू भएपछि तोकिएको समयमा सेवा पाएका छन् ।

अहिले कार्यालयबाट दैनिक रुपमा राष्ट्रिय परिचय पत्र १९० जना, नागरिकता १५० जना, राहदानी १३० जनाले सेवा लिने गरेका छन् । नागरिकता नयाँ बनाउने ८० जना र प्रतिलिपी लिने ७० जना हुने गरेको उहाँले बताउनुभयो ।