अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश प्रमुखमा सरुवा भएका डिआइजीलाई उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

प्रदेश प्रमुखमा सरुवा भएका डिआइजीलाई उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरीको नेतृत्वमा गएका अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री लामिछानेले पुस २८ मा सातवटै प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूलाई आज गृह मन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।

गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबिना प्रदेश प्रहरीको नेतृत्वमा कार्यकुशलताका आधारमा जिम्मेवारी हेरफेर गरिएको जनाउ पनि दिनुभएको छ । उहाँले कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको बताउनु भयो ।

गृहमन्त्री लामिछानेले ’संगठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको र यो विषयमा सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नहुने’ स्पष्ट पार्नुभएको छ । विगतमा सरुवालाई सजायको रुपमा लिने गरिएको भए पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितमा काम गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

गृहमन्त्रीले प्रदेश प्रहरीको नेतृत्व सम्हाल्न लागेका डीआईजीहरूलाई दिएका निर्देशनबारे सचिवालयले भनेको छ, ’अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनु पर्दैन । तपाईंको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ, यसैको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गर्नुभएको छ ।’

शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा काम गर्न नयाँ जिम्मेवारी पाएका अधिकारीहरूलाई गृहमन्त्रीले भन्नुभएको थियो ।

पुस २८ मा सातवटै प्रदेश प्रहरी प्रमुखमा नयाँ अधिकृतहरूलाई पठाइएको थियो । जसअनुसार प्रदेश १ मा श्यामलाल ज्ञवाली, मधेस प्रदेशमा वसन्त कुँवर, वाग्मती प्रदेशमा दीपक थापा, गण्डकी प्रदेशमा बुद्धिराज गुरुङ, लुम्बिनी प्रदेशमा टेकप्रसाद राई, कर्णाली प्रदेशमा भीमप्रसाद ढकाल र सुदूरपश्चिम प्रदेशमा अशोक सिंहलाई प्रदेश प्रहरी प्रमुखमा सरुवा गरिएको हो । उहाँहरुलाई आज मन्त्रालय बोलाएर निर्देशनसहित गृहमन्त्रीले कार्यक्षेत्रमा जान भन्नुभएको हो ।

डिआइजीहरुसँगको छलफलमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसमेत हुनुहुन्थ्यो ।