अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौं ल्याइँदै

बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौं ल्याइँदै


काठमाडौं – बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । उहाँलाई आजै नेपालगन्जबाट हवाईमार्गमार्फत काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

स्थलमार्गबाट ल्याउँदा सुरक्षा जोखिम हुन सक्ने भएकाले हवाईमार्गमार्फत काठमाडौं ल्याउन लागिएको प्रहरीको भनाइ छ। उहाँलाई आजबिहीबारै पक्राउ गरिएको हो ।

काठमाडौं ल्याएपछि उहाँलाई फैसला कार्यान्वयनका लागि कैलालीमा पठाउने सम्बन्धमा निर्णय लिइने प्रहरी स्रोतले बतायो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित हुनुभएको थियो ।

२०६६ सालमा ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले उहाँलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते यस्तो फैसला गरेको थियो ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।