अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण: मुख्यमन्त्री कार्की

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण: मुख्यमन्त्री कार्की


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताउनुभएको छ। झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताउनुभयो ।

“अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ”, उहाँले भन्नुभयो, “सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ ।” हाल प्रदेश नं १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ।

यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दाबी गर्दै नेकपा एमाले स्थायी कमिटीका सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले भन्नुभयो, “हाम्रा कारणले नामकरण रोकिएको होइन ।”

उहाँले प्रदेश नं १ मा पुरानो सञ्चार प्रतिष्ठान ब्यूँताउने जानकारी दिनुभयो । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो । त्यसबेला आफूले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसङ्ग जोड्दै उहाँले अब कानुन नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताउनुभयो ।

पत्रकार उपचार कोष सञ्चालन र पेसागत सुरक्षाका लागि प्रदेश सरकारले के(कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल र पत्रकारहरूको सङ्घसङ्गठनसँग परामर्श गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।