आज अन्तर्राष्ट्रिय नारी दिवस। कतिपयले नारी बन्धनको मुक्तिको दिनको रूपमा आज अर्थात मार्च ८ लाई सम्झने गरेका छन् । राजनीतिक अधिकार प्राप्त, समान ज्यालाको आन्दोलनबाट सुरु भएको यो दिन आज महिलालाई नीति निर्माणमा पुर्याउने,हिंसाको अन्त्य गर्ने र महिलाका पक्षमा बहस गर्ने दिनको रुपमा पनि मनाउने गरिएको छ।
कतिपयले नेपालमा महिला हकहित र सहभागिताका सवालमा अझै पनि निराशावादी र नकारात्मक धारणा प्रकट गर्दछन्। तर मलाई नेपाली महिलाहरुले गर्व गर्न पर्ने धेरै विषय पाएको जस्तो लाग्छ। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी अखिल नेपाल महिला संघको अध्यक्ष भएका नीति निर्माण तहमा महिलालाई ३३ प्रतिशत आरक्षण गर्नुपर्छ भन्ने आन्दोलन चलेको हो। उक्त आन्दोलनले सफलता हासिल गरेका कारण आज हामी संसदमा ३३ प्रतिशत अनुहार महिला देख्छौं । त्यहाँ महिला केवल देखाउनका लागि मात्र छैनन् । राजनीतिक, सामाजिक, अन्तराष्ट्रिय अनुभव र जानकारी बोकेका महिलाहरु हाम्रो संसदमा छन् । यो गौरव गर्न लायक विषय हो।
कतिपय विदेशीहरूले अहिले पनि हामीलाई महिला नेतृत्व र सशक्तिकरणको पाठ पढाउछन्। तर महिलाको नेतृत्व विकास र नीति निर्माण तहको सहभागिताका लागि नेपाल विश्व विद्यालय हो । जहाँ राष्ट्रपति,प्रधानन्याधिश, सभामुख महिला भइसकेका छन्।
अहिलेको संसदमा नेपालमा ३४ प्रतिशत महिला छन्। जनसंख्याको आधा भन्दा बढी हिस्सा आगोटेका नारीहरुको यो बढ्दो सहभागिताको ग्राफ हामी सबैका लागि आशाको दियो हो । त्यती मात्र होइन संविधानले नै स्थनीय तहका दुई मुख्य पदमध्ये एउटामा महिला अनिवार्य, हरेक वडामा एक जना महिला सदस्य र हरेक वडाबाट एकजना दलित महिला सदस्यको अनिवार्य प्रतिनिधित्वले नेपालमा नारीको नेतृत्व विकास जगै देखि हुँदै गरेको देखिन्छ। अहिले पनि स्थानीय तहमा करीब ४१ प्रतिशत महिला सहभागिता छ। केही ठाउँमा गठबन्धनका नाममा नारीको नेतृत्वलाई छलियो, संविधानको व्याख्यालाई अपव्याख्या गरियो । त्यस्ता ठाउँमा नारी नेतृत्वमा पुग्न बञ्चित भए । तर अर्को आशा लाग्दो कुरा पनि छ। देशका ७५३ वटा स्थानीय तह मध्येमा २५ वटामा नारीको शासन छ। महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरु महिलाले हाँकेका छन् । अहिले पनि प्रदेशसभा तर्फ कर्णाली प्रदेशको सभामुख महिला हुनुहुन्छ। यी सबै तथ्यका आधारमा भन्न सकिन्छ नारी नेतृत्वमा पुग्दैछन् । नारीले समाजमा आफूलाई स्थापित गर्दैछन् । मताधिकार पाएका ७३ वर्षपछि भए पनि नेपाली महिलाहरु नेतृत्वको सिंढी चढ्दैछन् ।
वडा तह देखि विकास भएको नारी नेतृत्वले विस्तारै पालिका,प्रदेश,संघ र मुलुकको कार्यकारी पद प्रधानमन्त्रीमा दाबी र हस्तक्षेप बढाउनेछ। नारीहरुले हिन भावना त्यागेर आत्मविश्वासका साथ अघि बढ्नु पर्नेछ। हाम्रा लागि आकास र जमिन दुवै ठाउँ खाली छ। खासगरी स्थानीय तहका उपमेयरमा महिलाहरुलाई धेरै देख्न सकिन्छ । संविधानले महिलालाई उपमेयर बनाउनु भनेको होइन तर मेयर वा अध्यक्ष बनाउदा पनि हुन्छ भनेको हो । तर महिलालाई उपमा चुप लगाउने चलन अझै हटिसकेको छैन। उपमेयर वा उपाध्यक्षको जिम्मेवारी जसले पाएका छौं हामीले कुशलतापूर्वक जिम्मेवारी नेतृत्व वहन गरेर आगामी निर्वाचनमा पहिलो पदको हकदार भएर निस्कनु पर्दछ।
देशका ७५३ वटा स्थानीय तह मध्येमा २५ वटामा नारीको शासन छ। महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरु महिलाले हाँकेका छन् । अहिले पनि प्रदेशसभा तर्फ कर्णाली प्रदेशको सभामुख महिला हुनुहुन्छ। यी सबै तथ्यका आधारमा भन्न सकिन्छ नारी नेतृत्वमा पुग्दैछन् । नारीले समाजमा आफूलाई स्थापित गर्दैछन् ।
नेपालमा वि.सं. २०१६ सालमा प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नारी दिवस मनाउन सुरू गरिएको हो। महिलाहरूलाई, मताधिकारको अधिकार २००६ सालबाट प्रजातन्त्रको प्राप्ती सँगै भएको हो । नेपालमा प्रधानमन्त्री बीपी कोइरालाको प्रधानमन्त्री कालमा द्वारिकादेवी ठकुरानी मन्त्रीमण्डलमा समावेश गरेर महिलालाई नीति निर्माणको उपल्लो थलोमा प्रतिनिधित्व गराउन सुरु गर्नु भएको हो । त्यसपछि नेपालको सर्वोच्च पद राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नेकपा एमालेको तर्फबाट दुईपटक राष्ट्रपति हुनुभयो । यसैगरी ओनसरी घर्ती मगर पहिलो महिला सभामुख हुनुभयो भने शुसिला कार्की सर्वोच्च अदातलको पहिलो महिला प्रधानन्याधिस हुनुभयो ।
महिलाको सहभागिता भएकोमा पछि आएर नेपालको प्रमुख राजनीतिक पद तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुग्नु भनेको यो सवालमा विश्व इतिहासमा नेपाल अग्रपक्तिया देखा परेको छ।
जब महिला शैक्षिक र आर्थिक रुपमा सवल हुन्छन् तव महिला हिंसा र परनिर्भरता घटेर जान्छ । त्यसका लागि स्थानीय सरकारले सानो स्रोत मै भए पनि महिलासँग जोडिने,महिलाको आत्मविश्वास बढाउने,महिलालाई उत्प्रेरित गर्ने केही न केही काम गर्नुपर्दछ । यसका लागि मैले सिद्धार्थनगर नगरपालिकामा ‘उपप्रमुख उद्यमशिलता विकास कार्यक्रम’ सञ्चालन गरेको छु । यस कार्यक्रम मार्फत कोशेली घर सञ्चालन गर्ने ,महिलालाई रोजगारीमा सामेल गराउने प्रयास जारी छ।
आजको २१औं शताब्दीको यो वैज्ञानिक एवं विश्व भूमण्डलीकरणको युगमा समेत पितृसत्तात्मक सोच, अशिक्षा, गरीबी, विभेदपूर्ण कानूनका कारण जवरजस्ती करणी यौन दुर्वयवहार एसिड आक्रमण, आगो लगाउन घरेलू हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथा जस्तो अमानवीय व्यवहार सहन बाध्य भएका छन् नेपाली नारीहरु । तर अब यस्ता अवरोध छिचोल्न पनि सक्षम हुदैछन् नारीहरु । यौन दुव्र्यवहारका कारण बिचल्लीमाा परेका बालिका र नारीहरुलाई संरक्षण गर्ने,उनीहरुलाई समाजमा पुनस्र्थापना गर्ने काममा स्थानीय तहमा भएका न्यायिक समितीहरु सक्रिय हुनुपर्दछ । यसैगरी एशिड आक्रमण नारी हिंसाको अर्को भयाभह अवस्था हो । यस्ता आक्रमणकारीलाई कानुनको दायरामा ल्याएर समाजलाई महिला हिंसा मुक्त बनाउदै लैजानु पर्दछ ।
हाम्रो समाजमा एकै रथका दुई पांग्रा र एकै सिक्कामा दुई पाटाको रूपमा नारी पुरुष समान भनी आवाज उठाए पनि व्यवहारमा भने सो दर्जा दिन सकेको छैन । यो दिवसको परिलक्ष्य भनेको महिला हिंसा अन्त्य गरी भयरहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको वातावरण सृजना गर्नु हो ।
(लेखक सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख हुनुहुन्छ।)




प्रतिक्रिया