अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘डोजर आतंक बन्द गर’ भन्दै देशभरका सुकुम्वासी बुटवलमा सरकारविरुद्ध प्रदर्शन 

‘डोजर आतंक बन्द गर’ भन्दै देशभरका सुकुम्वासी बुटवलमा सरकारविरुद्ध प्रदर्शन 


बुटवल-रुपन्देहीको बुटवलमा देशभरका अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुकुम्वासी वस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै त्यसलाई रोक्न माग गर्दै विरोध प्रदर्शन गरिएको हो।

सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्थाबिना सरकारले वर्षौंदेखि बसेको बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै प्रदर्शन गरेका छन्। 

डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर लेखेको ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको नेपाल भूमिहीन सुकुम्बासी संघर्ष समिति, रूपन्देहीका संयोजक खगेन्द्र पौडेलले जानकारी दिए ।

सरकारले बिनाविकल्प गरिब सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठिबास लगाउने काम गरेको उनले आरोप लगाए। उनीहरूले ‘डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर, गाँस, बासको व्यवस्था गर, जबर्जस्ती हटाउने अभियान बन्द गर, सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो, गरिबलाई बाँच्न दे, डोजर होइन समाधान दे, गाँस-बास-कपासको सुनिश्चित गर, बालेन सरकार राजीनामा दे’ लगायतका जस्ता नारा लगाउँदै सरकारविरुद्ध आक्रोश पोखेका छन्।