काठमाडौं-नेकपा (एमाले)का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले देशी विदेशी शक्तिहरूले पार्टी नेतृत्व र अध्यक्ष केपी शर्मा ओलीलाई सखाप पारेर जाने अभियान सञ्चालन गरेको दाबी गरेका छन्। साथै उनले नेतृत्वको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिङ्गो पार्टी पङ्क्तिको काँधमा आएको बताएका छन् ।
आइतबार मदन आश्रित स्मृतिसभाको अवसर पारेर काठमाडौँको बल्खुस्थित मदन नगरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुनन् ।
उपाध्यक्ष थापाले जेनजी आन्दोलन, निर्वाचन, सरकार, सरकारका निर्णय,पार्टी अध्यक्ष ओलीमाथि भइरहेका षडयन्त्रहरूलाई हेर्दा ती सबै घटनाक्रमहरू दासढुंगा हत्याकाण्ड नै निरन्तरताको रूपमा रहेको दाबी समेत गरे।
उपाध्यक्ष थापाले भने- ‘अहिले सरकारले ल्याएको अध्यादेश हेर्नुस्, मन्त्रिपरिषद्ले गरेको निर्णयहरू हेर्नुस्। हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुस् । उहाँमाथि लगाइएका मुद्दाहरूको प्रकृतिलाई हेर्नुस्। यी सबै घटनाहरू के हुन् ? यी सबै घटनाहरू दासढुंगा घटनाकै निरन्तरता हुन्। त्यसैको एउटा शृङ्खलाको रूपमा हामीले बुझ्नुपर्दछ । त्यसैले आज नेकपा एमालेको पछाडि एउटा गम्भीर कार्यभारहरू उपस्थित भएको छ।’
उपाध्यक्ष थापाले एमाले र नेतृत्वमाथि निरन्तर आक्रमण भइरहेकाले त्यसको विरुद्ध सचेत भएर लाग्नुपर्नेबेला आएको पनि बताए।




प्रतिक्रिया