अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको निराशालाई आशामा बदल्छु: राष्ट्रपति पौडेल

जनताको निराशालाई आशामा बदल्छु: राष्ट्रपति पौडेल


काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्न नहुने बताउनुभएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार बीपी सङ्ग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नवनिर्वाचित राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो।

नवनिर्वाचित राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताउनुभयो। उहाँले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जगेर्ना गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई हामीले जगेर्ना गर्नुपर्छ । यसैको मातहत रहेर संविधान सभाको २००७ सालमा बीपीले परिकल्पना गर्नुभएको थियो । त्यो संविधान सभाबाट नेपालमा जनताबाट निर्वाचित प्रतिनिधिबाट निर्मित संविधानको निर्माण भएर यो व्यवस्थाको टुङ्गो लागेको छ ।’

समावेशी लोकतन्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘अब यो व्यवस्था हामीले चिरस्थायी बनाउँदै यसमा समसामयिक सुधार गर्नुपर्ने भए गर्ने तर यसैलाई हामीले साकार बनाउन कार्यान्वयनमा ल्याउनुपर्छ। देशले पटक–पटकको नयाँ–नयाँ प्रयोग थाप्न सक्दैन र त्या क्षमता नेपालसँग छैन। राष्ट्रलाई उन्नति गर्ने समय चाहिन्छ। राजनीतिक स्थायित्व चाहिन्छ । जनताको हातमा आएको अधिकारलाई सुरक्षित गरेर राष्ट्र निर्माण गर्ने अवसर चाहिन्छ ।’

नवनिर्वाचित राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्यानुभयो। उहाँले सङ्ग्रहालयमा वृक्षरोपण गर्नुका साथै संग्रहालयको अवलोकन गर्नुभएको थियो।

Skip This