काठमाडौँ-जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत पुनः निर्वाचित भएका छन्। भर्खरै सम्पन्न मतगणनाअनुसार राउत अध्यक्षमा निर्वाचित भएका हुन्। महासचिवमा भने सञ्जयकुमार यादव निर्वाचित भएका छन्।
अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। यद्यपि पार्टीको विधानअनुसार उम्मेदवारले २० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने प्रावधान रहेकाले अध्यक्ष पदमा पनि मतदान भएको थियो। राउतले उक्त सीमाभन्दा धेरै मत प्राप्त गरेको बताइएको छ। तर, निर्वाचन समितिले अध्यक्ष पदको मत परिणाम सार्वजनिक गरिसकेको छैन।
महासचिव पदमा सञ्जयकुमार यादवले सबैभन्दा बढी मत प्राप्त गर्दै निर्वाचित भएको मतगणनामा संलग्न एक नेताले जानकारी दिए। महासचिवका लागि तीन जनाको उम्मेदवारी परेको थियो। यादवसँगै सप्तरीकी ममता झा र महोत्तरीका चन्दनकुमार सिंहले उम्मेदवारी दिएका थिए। यसअघि सिंह पार्टीको महासचिव थिए।
महासचिवमा निर्वाचित यादव सिरहाका हुन्। उनी मधेश प्रदेशसभाका सदस्यसमेत हुन्। यादव यसअघि दुई पटक मन्त्री भइसकेका छन्। उनी लामो समयदेखि सिके राउतसँगै पार्टीको राजनीतिमा सक्रिय रहँदै आएका छन्।
जनमत पार्टीको निर्वाचनमा १ हजार १५५ जनाले मतदान गरेका थिए।
पार्टीको उपाध्यक्षका सात पदका लागि १४ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, एक जना उपमहासचिवका लागि दुई जना र सात जना सचिवका लागि १० जनाले उम्मेदवारी दिएका छन्। यी पदहरूको मतगणना तथा अन्तिम परिणाम सार्वजनिक गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ।



प्रतिक्रिया