अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते

चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते


चितवन – जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन्।

चालु आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटीका कारण भएको देखिएको छ ।

कार्यालयको विपद् व्यवस्थापन शाखाका अनुसार गत आवमा जिल्लामा ४४ स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । आगलागीको समय सुरु हुन लागेकाले सबैलाई सजग रहन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनुरोध गर्नुभयो । उहाँले जिल्लामा अहिले आपत्कालीन कार्ययोजना निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालय, सुरक्षा निकायका सबै अङ्ग, सामुदायिक वन महासङ्घ, रेडक्रस जस्ता संस्थाको सहभागितामा कार्ययोजना निर्माणको काम भइरहेको छ ।” चैत १५ गतेसम्म कार्ययोजना तयार हुने जनाउँदै उहाँले यो कार्यान्वयनमा आएसँगै आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सहज हुने बताउनुभयो ।

गर्मी मौसम बढेसँगै विभिन्न कारणले आगलागी हुने गरेकाले यसको नियन्त्रणका लागि जनचेतना महत्वपूर्ण हुने उहाँको भनाइ छ। स्थानीय प्रशासनले जिल्लामा रहेका सात पालिकालाई नै जनचेतनाका कार्यक्रमका लागि आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पूर्वतयारी गरिरहेका छौँ ।” पालिकामा रहेका दमकल, एम्बुलेन्स र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको उहाँले बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै हुने हावाहुरी, डढेलो र चट्याङ जस्ता कारणले आगलागी बढी हुने गरेको छ ।