काठमाडौं-नेकपा (एमाले)ले पार्टी नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना वा विरोध गर्ने नेता-कार्यकर्तामाथि कडा अनुशासनात्मक कारबाही गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत एमालेले पार्टीभित्र बढ्दै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता नियन्त्रण गर्न यस्तो व्यवस्था लागू गरिएको जनाएको हो।
२०८३ असोज ८ गते सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार जारी अपानिमा पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा वा अपमान गर्ने, गुटबन्दी गर्ने तथा अनुशासनहीन गतिविधिमा संलग्न हुनेहरूमाथि स्पष्टीकरण सोधेर कारबाही गर्न निर्देशन दिइएको छ।
अपानिमा भनिएको छ, ‘आजसम्म जो-जसले जे-जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, त्यसलाई छोडिदिने र केन्द्रीय कमिटीको चालु बैठकलाई ‘कटअफ’ बैठकका रूपमा मान्ने। तर अब उप्रान्त पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक आलोचना वा विरोध गर्ने, गुटबन्दी गर्ने तथा अराजक गतिविधि गर्नेहरूलाई कारबाही गरिनेछ।’
एमालेले पार्टीलाई एकताबद्ध, अनुशासित र सुदृढ संगठनका रूपमा विकास गर्न यस्तो निर्णय आवश्यक भएको जनाएको छ।
पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणबारे पछिल्लो समय एमालेभित्र बहस तीव्र बन्दै गएको थियो। विभिन्न नेता–कार्यकर्ताले सार्वजनिक रूपमा अध्यक्ष ओलीको नेतृत्वमाथि प्रश्न उठाउँदै आएका थिए। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको पार्टी पुनर्गठन कार्यदलले सातै प्रदेशमा गरेको छलफलका क्रममा नेतृत्व परिवर्तनसम्बन्धी सुझावहरू समेत प्राप्त भएको चर्चा भएको थियो।
अपानिमा एमालेले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पार्टी रूपान्तरणबारे पनि आफ्नो दृष्टिकोण स्पष्ट पारेको छ। पार्टीले युवा नेतृत्वलाई घोषणामा मात्र नभई व्यवहार र प्रणालीमार्फत स्थापित गर्ने दाबी गरेको छ।
‘युवा नेतृत्व केवल कोटाबाट होइन, जिम्मेवारीबाट विकास हुनुपर्छ। वैचारिक प्रशिक्षण, जनसम्पर्क, नीति निर्माणमा सहभागिता, संगठन सञ्चालनको अवसर र चुनावी अभ्यासमार्फत नेतृत्व तयार गरिनुपर्छ,’ अपानिमा उल्लेख छ।
महिला नेतृत्वको सन्दर्भमा पनि एमालेले प्रतिकात्मक प्रतिनिधित्वभन्दा जिम्मेवारीपूर्ण भूमिकामा सहभागिता बढाउनुपर्ने धारणा व्यक्त गरेको छ।
पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछिको वरीयतासहित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको उल्लेख गर्दै स्थानीय तहदेखि केन्द्रीय तहसम्म नयाँ नेतृत्व विकासको योजनाबद्ध प्रक्रिया अघि बढाइने जनाएको छ।
नेतृत्व हस्तान्तरणबारे अध्यक्ष ओलीले प्रक्रिया, विधि र तयारीको आधारमा मात्रै नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्। ‘नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति होइन। पार्टी कसैको व्यक्तिगत विषय होइन। एमाले विचारको धारा, जनताको भरोसा, कार्यकर्ताको पसिना र संघर्षको निरन्तरता हो,’ अपानिमा उल्लेख छ।
ओलीले आफूलाई स्थायी नेतृत्वका रूपमा नठानेको उल्लेख गर्दै नेतृत्व हस्तान्तरण हतार वा दबाबका आधारमा नभई सक्षम नयाँ पुस्ता तयार पार्ने प्रक्रियामार्फत हुनुपर्ने बताएका छन्।
उनले नेतृत्व हस्तान्तरण विधिसम्मत र संस्थागत प्रक्रियाबाट भए पार्टी बलियो हुने, तर दबाब, हल्ला, अपमान र अधैर्यका आधारमा भए पार्टी विभाजित हुन सक्ने चेतावनी दिएका छन्।




प्रतिक्रिया