काठमाडौं-नेकपा (एमाले)ले मुलुकको संविधान र लोकतन्त्र संकटमा रहेको निष्कर्ष निकाल्दै त्यसलाई सही दिशामा फर्काउनुपर्ने आवश्यकता औँल्याएको छ।
यही असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकपछि केन्द्रीय कार्यालयले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशन–३ मा संविधान र लोकतन्त्र संकटमा परेको उल्लेख गरिएको हो।
एमालेले लोकतन्त्र विधिको शासन व्यवस्था भएको भन्दै संकटका नाममा संविधानको नियमित बाटो छाड्ने अभ्यासले भविष्यमा खतरनाक नजिर स्थापित गर्न सक्ने चेतावनी दिएको छ।
एमालेले वर्तमान सरकार संविधान, संवैधानिक व्यवस्था र विधिको शासनविपरीत स्वेच्छाचारी तथा अधिनायकवादी बाटोतर्फ अघि बढिरहेको आरोप लगाएको छ। नयाँ जनादेशपछि बनेको सरकार सुरुदेखि नै प्रतिशोध र पूर्वाग्रहको बाटोमा हिँडेको दाबी गर्दै एमालेले पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीलाई कानुनी प्रक्रियाबाहिर नियन्त्रणमा लिने, पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने तथा सम्पत्ति शुद्धीकरण र छानबिनका नाममा त्रासको वातावरण सिर्जना गर्ने काम भएको आरोप लगाएको छ।
एमालेले नेपालको संविधान कुनै व्यक्ति वा संस्थाको सिर्जना नभई जनआन्दोलन, राजनीतिक संघर्ष, संविधानसभा, सहमति र ऐतिहासिक योगदानको परिणाम भएको उल्लेख गरेको छ। गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मौलिक अधिकार र संसदीय शासन प्रणाली संविधानका महत्वपूर्ण उपलब्धि भएको भन्दै यसको संरक्षण आवश्यक रहेको उसको भनाइ छ।
पार्टीले लोकतन्त्र र संविधानको रक्षाका लागि संविधान पक्षधर राजनीतिक शक्ति, नागरिक तथा बौद्धिक समुदायबीच सार्थक संवाद, सहकार्य र एकताको आवश्यकता औँल्याएको छ। साथै, लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीलाई पार्टीका प्रमुख आगामी कार्यभारका रूपमा अघि बढाउने निर्णय गरेको छ।
एमालेले आफ्नो पछिल्लो निर्वाचन पराजयलाई बाह्य राजनीतिक आक्रमणसँगै आन्तरिक कमजोरीको परिणामसमेत मानेको छ। संगठन, जनसम्पर्क, सञ्चार, युवा संवाद, उम्मेदवार छनोट र स्थानीय मुद्दालाई सम्बोधन गर्न नसक्नुजस्ता कमजोरी सुधार गर्दै पार्टीलाई पुनर्गठन र सुदृढीकरण गर्ने प्रतिबद्धता पनि अन्तरपार्टी निर्देशनमा व्यक्त गरिएको छ।



प्रतिक्रिया