काठमाडौं-नेकपा (एमाले)ले वरिष्ठ नेता विद्यादेवी भण्डारीको जिम्मेवारी र भूमिकालाई स्पष्ट पारेको छ।
असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा भण्डारीको जिम्मेवारी स्पष्ट पारेको हो।
एमालेले भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता बनाएको छ। अब उनी केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुने व्यवस्था गरिएको छ।
अपानीमा वरिष्ठ नेताका रूपमा भण्डारीले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने तथा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्य गर्ने उल्लेख छ।
त्यस्तै, उनले अध्यक्षलाई सहयोग गर्ने र पार्टीलाई सही तथा समयोचित निर्णय लिन योगदान पुर्याउने जिम्मेवारीसमेत पाएकी छन्।
एमाले केन्द्रीय कमिटीको २०८३ असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई अपानीमार्फत पार्टीका मातहत कमिटीसम्म जानकारी गराउँदै उनको औपचारिक भूमिका स्पष्ट पारिएको हो।
भण्डारीलाई दिइएको भूमिकासम्बन्धी निर्णय आगामी विधान महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गरिने एमालेले जनाएको छ।
अपानीमा भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय पार्टी विधानको धारा १०५ मा रहेको बाधा–अड्काउ फुकाउने व्यवस्था तथा धारा १३(क) अन्तर्गत दुई महाधिवेशनबीचको अवधिमा राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी भएर पार्टीको सर्वोच्च संस्थाको हैसियतमा निर्णय गर्न पाउने अधिकार प्रयोग गरेर गरिएको उल्लेख छ।
एमालेले अपानी–३ मार्फत वरिष्ठ नेता भण्डारीको पार्टीभित्रको वरीयता, औपचारिक भूमिका र जिम्मेवारीलाई संस्थागत रूपमा स्पष्ट गरेको छ।





प्रतिक्रिया